दुई भूमिकामा तारा थप्ने डिडियरको चाहना

मस्काे । तारा थप्न फ्रान्सलाई जुन अवसर छ, सायद त्योभन्दा ठूलो अवसर फ्रान्सेली प्रशिक्षक डिडियरअगाडि छ । फ्रान्सले विश्वकप जितेमा उनले यस्तो कीर्तिमान बनाउनेछन् । जुन यसअघि मात्र दुई जनाले हासिल गरेका छन् । ‘सबै सफल खेलाडी सफल प्रशिक्षक हुन सक्दैनन् ।’ यसको उदाहरणका रूपमा डिएगो म्याराडोनालाई लिए हुन्छ ।

तर, अपवाद पनि त हुन्छन् नि ! हो, त्यही अपवाद बन्ने लक्ष्यमा छन्, फ्रेन्च प्रशिक्षक डिडियर । सन् १९९८ मा घरमै भएको विश्वकपको ट्रफी डिडियरले उचालेका थिए । कप्तानका रूपमा डिफेन्सिभ मिडफिल्डका उच्चस्तरीय खेलाडी डिडियर अहिले क्रोएसियाविरुद्ध अचुक रणनीति बनाउँदै छन् ।

किनभने, उनलाई जसरी पनि जित्नु छ र इतिहासमा तेस्रो व्यक्ति बन्नु छ, जसले खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप जित्न सकेको होस् । हालसम्म ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फन्स बेकनबउरले मात्र त्यो सफलता हात पारेका छन् । जागाल्लोले सन् १९५८ र १९६२ मा खेलाडी र १९७० मा प्रशिक्षकका रूपमा ब्राजिलका लागि विश्वकप उपाधि जितेका थिए ।

सन् १९७४ मा खेलाडीका रूपमा विश्वकप जितेका बेकनबउर फ्रन्जले प्रशिक्षक हुँदा सन् १९९० मा जर्मनीलाई उपाधि दिलाए । सन् १९९८ मा विश्वकप च्याम्पियन बन्नुअघिको डेसच्याम्पको टोलीको पीडा भने अर्कै थियो । सन् १९९० र १९९४ को विश्वकपमा फ्रान्स छनोट हुनै सकेको थिएन । १९९४ को विश्वकप छनोटमा निर्णायक खेलमा बुल्गेरियासँग पराजित हुनुको पीडा सायद उनको पुस्ताले कहिल्यै बिर्सनेछैन ।

तर, १९९८ मा फ्रान्स घरेलु मैदानमा भएको विश्वकपमार्फत फर्कियो धमाकेदार रूपमा । १९८९ देखि २००० सम्म राष्ट्रिय टिमबाट खेलेका डेसच्याम्पले १ सय ३ क्याप जितेका छन् । आइतबार पनि फ्रान्सेली टोलीले मस्कोस्थित लुज्निकी रंगशालामा आफ्ना प्रशिक्षकलाई जीवनकै अमूल्य उपहार दिन सक्षम होला त ?

प्रतिक्रिया