शरदको धर्यता र दिपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं । बलिङसँगै ब्याटिङको पनि राम्रो साथ पाएपछि नेपालले विश्वकप क्रिकेट छनोटको अभ्यास खेलमा युएईमाथि जित निकालेको छ । सोमबार जिम्बाब्वेस्थित केविकेमा भएको अभ्यास खेलमा नेपालले युएईमाथि ५ विकेटको जित निकाल्दै डिभिजन–२ को फाइनलमा ब्यहोरेको हारको बदलासमेत लियो । नेपालको जितमा ललित भण्डारी र करण केसीले उत्कृष्ट ब्याटिङ गर्दा शरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी, पारस खड्का र आरिफ शेखले राम्रो ब्याटिङ गरे ।  निर्धारित २९ ओभरमा युएईले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालले ४ बल अगावै ५ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।  नेपालका लागि विष्फोटक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरी ४१ रन बनाएर आउट हुँदा शरद ४१ रनमा अविजित रहे । म्यान अफ दी म्याच शरदले ५४ बलमा १ मात्र छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रले विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे । कप्तान पारसले १ चौकाको मद्दतले २८ रन बनाए भने आरिफ १५ बलमा २ चौका र १ छक्काको मद्दतले २३ रनमा अविजित रहे । नेपालका ओपनर ज्ञानेन्द्र मल्लले राम्रो ब्याटिङ गरे पनि ३ चौका प्रहार गर्दै १२ रनमै आउट भए । अर्का ओपनर दिलिप नाथ ४ रनमा आउट भए । अनिलकुमार शाह ११ रनमा मोहम्मद नाविदद्वारा क्लिन बोल्ड भए । नेपालको जितमा पाँचौँ विकेटका लागि शरद र दीपेन्द्रबीचको ५७ रन तथा छैटौँ विकेटका लागि शरद र आरिफबीचको ४६ रनको साझेदारी महत्वपूर्ण रह्यो । युएईको बलिङमा अमिर हायतले २, मोहम्मद नाविद, अहम्मद राजा तथा रोहन मुस्तफाले १–१ विकेट लिए पनि अन्यले थप विकेट लिन नसक्दा नेपालले जित आत्मसात ग¥यो ।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको युएईले २९ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । युएईका लागि अस्फाक अहम्मदले सर्वाधिक ४२, गुलाम साबेरले ३२, अदनान मुफ्तीले ३७, मुहम्मद  उस्मानले २६, साइमन अनवरले १६ रन बनाए ।  युएईका ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि ललितसिंहले ४ र करणले ३ विकेट लिँदै युएईको पारी ध्वस्त पारेका थिए । ललित राजवंशीले २ र पारस खड्काले १ विकेट लिए । नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–२ मा विजेता बनेको युएई र उपविजेता नेपाल विश्वकपको छनोट खेल्न जिम्बाब्वे पुगेका हुन् ।

२ हप्ताको फरकमा नेपालले युएईसँग तेस्रोपटक खेल्दा २ जित आत्मसात ग¥यो । जिम्बाब्वेमा आइतबारदेखि हुने विश्वकप छनोटमा नेपालसहित १० देश सहभागी छन् । नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाब्वे, हङकङ र स्कटल्यान्ड छन् । नेपालले पहिलो खेल आइतबार जिम्बाब्वेसँग, दोस्रो खेल २४ फागुनमा स्कटल्यान्डसँग, तेस्रो खेल २६ फागुनमा अफगानिस्तानसँग र  लिगको अन्तिम खेल २८ फागुनमा हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया