इलामको २०० औँ बार्षिकोत्सव मनाइने

इलाम, १५ फागुन । इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको अवसरमा आगामी वर्ष २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ ।

विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ । भारतसँगको सुगौली सन्धिपछि नगरीगढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इलाम बजार स्थापना भएको थियो ।

सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा इलामको नारायणस्थानमा आएर बसेको थियो । त्यसैलाई आधार मानेर हालको सदरमुकाम स्थापना भएको २०० औँ बार्षिकोत्सव मनाउन लागिएको हो ।

वर्षगाँठको अवसरमा २०७५ साल वैशाख १ गतेदेखि तीन दिनसम्म विशेष कार्यक्रम आयोजना गरेर भव्यताका साथ वर्षगाँठ मनाउने निर्णय भएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

‘हाम्रो इलाम, हाम्रो गौरव’ भन्ने मूलनाराका साथ वर्षगाँठ मनाउन लागिएको हो । वर्षगाँठ समारोहको उद्घाटन राष्ट्रपतिबाट गराइने तयारी गरिएको समेत नगरप्रमुख बस्नेतले जानकारी दिए ।

सो अवसरमा २०० वर्ष पुगेको झल्को दिने प्रतीकसहितको स्तम्भ राख्ने, इलामका बारेमा जानकारी दिन विचार गोष्ठी, साहित्य सम्मेलन, सांस्कृतिक कार्यक्रम, इलामको विकासमा योगदान पुर्याउने विशिष्ठ व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाले जनाएको छ ।

बार्षिकोत्सव मनाउन नवराज शंकरको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन तथा संयोजन समितिसमेत गठन भइसकेको छ ।

प्रतिक्रिया