अब कांग्रेसको भूमिका

नेपाली कांग्रेस यतिवेला प्रमुख प्रतिपक्षको भूमिकामा छ । पार्टी एकीकरणको चरणमा रहेका नेकपा एमाले–माओवादीको सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतबाट जति चासोका साथ हेरिएको छ, नेपाली कांग्रेसले निर्वाह गर्ने अबको भूमिकालाई पनि त्यति नै चासो दिइएको छ । संघर्ष र सत्ता सञ्चालनका दृष्टिले सबैभन्दा अनुभवी पार्टी भए पनि संसद्मा प्रतिपक्षको भूमिकाका दृष्टिले कांग्रेस एमालेजत्तिको अनुभवी पार्टी होइन । कांग्रेसले अहिलेसम्म पुगनपुग पाँचपटक गरी चार वर्ष मात्रै प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरेको छ । ०५१ सालमा एमालेका मनमोहन अधिकारी प्रधानमन्त्री भएका वेला नौ महिना, ०५४ मा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका वेला नौ महिना, ०६५ मा प्रचण्ड प्रधानमन्त्री भएका वेला नौ महिना, ०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री भएका वेला नौ महिना, त्यसलगत्तै बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला नौ महिना र ०७२ सालमा ओली प्रधानमन्त्री भएका वेला नौ महिना कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरेको छ । तर, यो पाँचैपटक कसरी सत्तामा पुग्ने भन्ने अभियानमै कांग्रेस केन्द्रित भएको देखिन्छ ।
संसदीय अभ्यासलाई हेर्ने हो भने कांग्रेस मात्रै होइन, मुलुकका प्रायः सबै दलको विगत उस्ताउस्तै छ । सत्तामा हुँदा आपसी द्वन्द्व गर्दै आफ्नै कारण ढल्ने, प्रतिपक्षमा रहँदा रचनात्मक भूमिका निर्वाह गर्नुको सट्टा जसरी भए पनि सरकारलाई विस्थापित गरी आफू पुग्ने अभियानमै प्रमुख दलहरू केन्द्रित रहेको विगत छ । यदि, एमाले र माओवादी पार्टी एकीकरण प्रक्रियामा सफल भएनन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अब कुन बाटो तय गर्ला ? भन्ने प्रश्नको उत्तर खोजिरहनै पर्दैन । उसले गर्ने भनेको सत्ता समीकरण परिवर्तनको खेल नै हो । तर, एमाले र माओवादी पार्टीबीच एकीकरण भयो भने रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुबाहेक कांग्रेसका लागि अर्को विकल्प रह“दैन । त्यसैले, कांग्रेसको भूमिका अब कस्तो होला ? भन्ने प्रश्नको उत्तर एमाले–माओवादीको भूमिकामा निर्भर छ ।
संसद्मा कुनै पार्टीको पनि बहुमत नभएको अवस्थाका सरकारको त कुरै छाडौँ, संसद्मा एउटै पार्टीको बहुमत भएको अवस्थामा समेत पूरै अवधि सरकार चलेको नजीर छैन । ०१५ सालमा कांग्रेसको दुईतिहाइ बहुमतसहितको सरकार १८ महिनामै अपदस्त गरिएको थियो भने ०५१ साल र ०५९ सालमा कांग्रेसको बहुमतको सरकार आफ्नै कारण ढलेको थियो । आफ्नो पार्टीको बहुमत रहेको संसद्लाई आफैँ विघटन गरेर नेपाली कांग्रेस सडकमा आएको थियो । मुलुकमा कम्युनिस्ट पार्टीहरूको जनमत बढ्दै जानु र कांग्रेसको जनमत घट्दै जानुको मुख्य कारण यही हो । जसका कारण मुलुकको राजनीतिमा नयाँ उखानसमेत थपियो, ‘कुकरलाई घिउ र कांग्रेसलाई बहुमत पच्दैन ।’ यतिवेला जनताले पहिलोपटक कम्युनिस्ट पार्टीलाई बहुमतको सरकार दिलाएका छन् । यो सरकार सफल र असफल जे हुँदा पनि कांग्रेसलाई घाटा छैन । सरकार सफल भयो भने मुलुकले आर्थिक विकास तथा समृद्धिमा फड्को मार्छ, जनताले सुख पाउँछन्, संविधानले स्थायित्व पाउ“छ, लोकतान्त्रिक शासन व्यवस्था निर्विकल्प हुँदै जान्छ । मुलुकले प्राप्त गर्ने उपलब्धि भनेको सबै पार्टीको उपलब्धि हो । यदि, ओली सरकार सफल भएन भने विकल्पका रूपमा जनताले रोज्ने भनेको कांग्रेसलाई नै हो । तर, यो पाँच वर्षको अवधिमा एमाले–माओवादी एकीकरण अभियान रोकेर वा एकीकरण भइसकेपछि पनि विभाजित गरेर सत्तामा जाने प्रयास कांग्रेसले ग¥यो भने दुर्भाग्य हुनेछ । एक जम्काभेटमा एमालेनिकट वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले कांग्रेस नेता डा. प्रकाशसरण महतसँग भने, ‘तपाईंहरू पाँच वर्ष चुप लागेर बस्दा राम्रो हुन्छ, सत्तामा जाने प्रयास नगर्नोस् है ।’ जवाफमा महतले भने, ‘एमाले–माओवादी एक ठाउँमा रहेसम्म हामी चल्मलाउने ठाउँ नै छैन, तपाईं ढुक्क भए हुन्छ शम्भुजी ।’ डा. महतको अभिव्यक्तिले के संकेत दिन्छ भने ‘एमाले–माओवादीबीच द्वन्द्व भई सरकार चलेन भने वैकल्पिक सरकारका लागि कांग्रेस अघि सर्छ ।’ प्रमुख प्रतिपक्षको धर्म यो पनि हो । तर, यस्तो गल्ती कांग्रेसले गर्नुहुन्न । वर्तमान सरकार चल्न सकेन भने विकल्पमा अर्को सरकार होइन कि, मध्यावधि निर्वाचन सर्वोत्तम विकल्प हो । सत्ता समीकरण परिवर्तनबाट होइन कि, निर्वाचनबाट मात्रै सरकारमा आउने अभियानका साथ एकढिक्का भएर अहिलेलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै जीर्ण बन्दै गएको पार्टी संगठनलाई सुदृढीकरण गर्न कांग्रेस जुटोस् ।

प्रतिक्रिया