सिलवालमाथि किन खनिए देउवा ?

आफू प्रधानमन्त्री पदबाट नहट्दै सांसद नवराज सिलवालविरुद्ध किर्ते अभियोगमा अदालतमा मुद्दा दायर गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा जुटेका छन् । प्रधानन्यायाधीश पदमा आफ्नो कार्यकर्ता रहेकै अवस्थामा सिलवाललाई ठेगान लगाउन नसके पछि आफुलाई अफ्ठ्यारो पर्ने ठहरमा उनी छन् । एक वर्षअघि आइजिपी बढुवा प्रकरणमा किर्ते भएको थियो । त्यो किर्ते काम सरकारका तर्फबाट भयो कि तत्कालीन डिआइजी सिलवालबाट भयो भन्ने प्रश्न निकै पेचिलो बनेको छ । सरकारले विनाछानबिन उक्त किर्ते काम सिलवालबाट भएको आरोप लगाउँदै आएको मात्रै छैन, फेला पर्नासाथ पक्राउ गर्ने आदेश प्रहरी संयन्त्रलाई दिएको छ । यो प्रकरणमा सिलवाल निर्दोष रहेको अधिकांश प्रहरी अधिकृतलाई थाहा छ । थाहा भएकै कारण र भोलि यस्तो अन्याय आफूहरूमाथि पनि हुन सक्ने ठहरका कारण प्रहरी अधिकृतहरूले सिलवाललाई पक्राउ गर्न मानिरहेका छैनन् । सिलवाललाई पक्राउ गर्न प्रधानमन्त्री देउवाको निर्देशनमा आइजिपी प्रकाश अर्यालले दिएको आदेश सन्दिग्ध छ भन्ने कुरा अधिकांश प्रहरी अधिकृतलाई थाहा छ । त्यसैले उनीहरूले सांसद सिलवाललाई पक्राउ गरेका छैनन् । सिलवाल पक्राउ नपरेपछि छटपटाएका प्रधानमन्त्री देउवाले आफू पदमा छ“दै सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा रहेका गोपाल पराजुलीलाई प्रयोग गरेर सिलवाललाई फसाउने र किर्ते अभियोगबाट आफू चोखिने दाउ रचिरहेका छन् । तर, यस्तो एकलौटी मुद्दा प्रहरी प्रधान कार्यालयमार्फत दायर हुन नसक्ने कानुनविद्हरूले बताइरहेका कारण देउवा सफल हुन सम्भव छैन ।
आइजिपी बढुवा प्रकरणमा के भएको हो ? भन्ने यथार्थ धेरैलाई जानकारी नभएका कारण र राजनीतीकरण गरिएका कारण पनि सांसद सिलवालले यतिवेला अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेका हुन् । त्यतिवेला आइजिपी पदमा बढुवा हुनका लागि योग्यता पुगेका चार जना डिआइजिपी थिए । जसमध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा सिलवाल पहिलो, प्रकाश अर्याल दोस्रो र जयबहादुर चन्द तेस्रो थिए । कार्यसम्पादन मूल्यांकनमा पहिलो रहेकालाई नै आइजिपी नियुक्त गर्ने विगतको परम्परा थियो । तर, प्रधानमन्त्री देउवा भने तेस्रो नम्बरमा रहेका आफ्ना नातेदार जयबहादुर चन्दलाई आइजिपी बनाउन चाहन्थे । तत्कालीन गृहमन्त्री निधि सिलवाललाई बनाउन चाहने र कांग्रेस सभापति देउवा चन्दलाई बनाउन चाहने विवादका कारण लामो समयसम्म आइजिपी बढुवा हुन सकेन । अन्तिममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवाको आदेश मान्दै तेस्रो नम्बरमा रहेका चन्दलाई आइजिपीमा बढुवा गरे । चन्दले फुली लगाउन नपाउ“दै सिलवाल अदालत गए । अदालतले कार्यसम्पादन मूल्यांकनका आधारमा जो पहिलो छ, उसैलाई आइजिपी बढुवा गर्नुपर्ने भन्दै चन्दको पक्षमा सरकारले गरेको निर्णय खारेज गरिदियो ।
सर्वोच्च अदालतको यो आदेशपछि पनि करिब एक महिनासम्म आइजिपी बढुवा गरिएन । यहीबीचमा कार्यसम्पादन मूल्यांकन फारम परिर्वतन गरी प्रकाश अर्याललाई पहिलो र सिलवाललाई दोस्रो बनाइयो र अर्याललाई आइजिपी पदमा नियुक्त गरियो । यो किर्तेविरुद्ध सिलवाल फेरि अदालत गएपछि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दायर गरी पेन्डुलम बनाइयो । सुशीला कार्की प्रधानन्यायाधीश हुँदा सर्वोच्च अदालतमा पेस भएको कार्यसम्पादन मूल्यांकन फारम किर्ते भएको र त्यो काम सिलवालले गरेको दलिल सरकारको छ । सिलवालको दलिल भने पहिले पेस गरिएको कार्यसम्पादन मूल्यांकन फारम सक्कली रहेको र पछि किर्ते बनाइएको भन्ने छ । सबै कागजात सरकारको नियन्त्रणमा हुने भएकाले सिलवालले किर्ते गर्न सम्भव थिएन भन्ने कुरा जगजाहेर छ । कार्यसम्पादन मूल्यांकन फारम गृह मन्त्रालय, प्रहरी प्रधानकार्यालय र लोकसेवा आयोगको गोप्य शाखामा सिलबन्दी गरेर राखिएको हुन्छ । यी तिनै ठाउँमा पुगेर किर्ते गर्ने हैसियत डिआइजीको हुँदैन । तर, सरकारले चाह्यो भने कागजात हेरफेर गर्न सक्छ । सिलवाल प्रकरणमा पनि सरकारले नै किर्ते गरेको हो । नयाँ सरकार गठन भएपछि वास्तविक छानबिन हुने र यो किर्ते प्रकरण सतहमा आउने निश्चित भएपछि प्रधानमन्त्री देउवा अत्तालिएका हुन् । उनीसँगै हालका मुख्यसचिव तथा तत्कालीन गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्याल पनि आत्तिएका छन् । यथार्थ छानबिन हुनासाथ यी तीनै जना जेल जाने सम्भावना छ । यो प्रकरणमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधि पनि पानीमाथिको ओभानो छैनन् । तर, कानुनको समेत जानकार निधिले भन्ने गरेका छन्, ‘अहिलेसम्म सबै आइजिपीहरू गृहमन्त्रीको सिफारिसमा मात्रै नियुक्त भएका छन्, प्रकाश अर्याल मात्रै यस्ता आइजिपी हुन् जो गृहमन्त्रीको सिफारिसविनै नियुक्त भएका हुन् ।’ किर्ते काम गरी सिलवाललाई दोस्रो बनाइएको यथार्थ तत्कालीन गृहमन्त्री निधिको यो भनाइले पनि पुष्टि गर्छ । यदि किर्ते नहु“दो हो त प्रकाश अर्याललाई आइजिपीमा बडुवाका लागि गृहमन्त्रीको हैसियतले निधिले सिफारिस गर्ने थिए ।

प्रतिक्रिया