दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको भनिएको सामूहिक बलात्कारको घटना दिनप्रतिदिन जटिल बन्दै गएको छ । दबाबमा युवतीले पटकपटक वयान फेरेपछि र प्रहरीकै संलग्नतामा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गरेपछि यो घटना सामाजिक समस्याका रूपमा देखिएको छ । एकातिर उजुरीपछि युवती बेपत्ता हुनु, सम्पर्कमा आएर सामूहिक बलात्कार नभएको र सहमतिमै आफ्नो प्रेमीसँग यौनसम्पर्क राखेको वयान दिनु, नसामा लठ्ठिएकाले आपूmले केही थाहा नपाएको वयान दिनुले घटना झन् गम्भीर बन्दै गएको छ । युवतीको बैंक खातामा एक्कासि ठूलो रकम जम्मा हुनु, प्रहरीकै संलग्नतामा प्रेमीकै अगाडि सामूहिक बलात्कार भएको उजुरी दिए लगत्तै तीनै प्रेमीसँग विवाहको सम्झौता गर्नुले घटनालाई अझ जटिल बनाएको छ ।
प्रहरीले मोटो रकम लिएर घटना मिलापत्र गराएको सर्वत्र चर्चाको विषय छ । मिलापत्र गर्दा दुवै तर्फका साक्षीसमेत राखिएको थियो । मिलापत्रमा प्रेमीले आपूmलाई छोडेर हिँडेपछि रिसले आवेगमा आएर आपूmले सामूहिक बलात्कार भएको उजुरी दिएको युवतीको पछिल्लो वयान छ । आर्थिक लेनदेनका आधारमा प्रहरीले जवरजस्ती मिलापत्र गराएको अधिकांशको आशंका छ । पछिल्लो तथ्य अनुसार युवतीका परिवारले सहमति हुनअघि प्रहरी परिसरमै रकम बुझेका थिए । ३० लाख नगदसहित विवाह गर्ने मिलापत्रपछि युवतीका प्रेमीलाई छोड्ने वेलामा प्रहरीले विवाह गर्ने नि भन्दै छोडेको थियो ।
यो घटना एउटा उदाहरण मात्र हो । राजधानीको घटना, सञ्चारमाध्यमको पहुँच राम्रो भएकाले यो घटना बाहिर आयो । ल्यान्डमार्कको नक्कल गर्दै इटहरीमा त्यस्तै प्रकृतिको घटना दोहोरिएको छ । कक्षा ९ मा पढ्ने १४ वर्षीया युवतीमाथि भएको सामूहिक बलात्कारको घटना पनि प्रहरीको मिलेमतोमै मिलापत्रतिर मोडिएको छ । युवती तथा बालिकाहरूमाथि हुने यस्तो जघन्य अपराधका घटनामा प्रहरीको संलग्नता रहनु र लेनदेनमा मिलापत्र गराउनु कानुनी राजको उपहास हो । पहुँचका आधारमा अपराधका यस्ता घटना ढाकछोप गर्न प्रहरीको संलग्नताबाहेक सम्भव हुन्न । प्रहरी समाजको सुरक्षाका लागि हो । सर्वसाधारण नागरिकसम्म पुग्ने सरकारको मुख्य अंग हो । दुर्गममा प्रहरी नै राज्यको प्रतिनिधि हो । तर, रक्षक नै भक्षक भएपछि सर्वसाधारणको जाने ठाउँ रहन्न ।
यी घटनाले प्रहरीमाथि जनविश्वास घट्नु त स्वभाविक भयो नै । स“गस“गै केही सामाजिक र समाजशास्त्रीय कुरालाई पनि व्याख्या गर्नुपर्ने अवस्था सिर्जना भएको छ । प्रेमीबाट नै सामूहिक बलात्कार गराइन्छ भने प्रेम केलाई भन्ने ? विश्वास केलाई भन्ने ? बलात्कार केलाई भन्ने र विवाह केलाई भन्ने ? अहिलेको समाजशास्त्रले गरेको परिभाषाले माथिका गतिविधिलाई समेट्न त सक्दैन । यसको अर्को महत्वपूर्ण पाटो भनेको सामाजिक सञ्जालको प्रयोग हामी कसरी गर्दैछौँ र हाम्रा युवापुस्ताले त्यसलाई कसरी प्रयोग गर्दै छन् भन्ने प्रश्नलाई पनि नकार्न मिल्दैन । यी सबै कुरामा सरकार गम्भीर हुनै पर्छ । थप केही गर्न सकिन्न भने पनि प्रत्येक नागरिकको संविधान प्रदत्त मौलिक हकको रक्षा गर्नु सरकारको जिम्मेवारी हो ।
प्रतिक्रिया