कांग्रेस सुदृढीकरण अभियान

सहिद दिवसको अवसर पारेर नेपाली कांग्रेसका केही युवा नेताहरूले मंगलबार सडकमा बसेर बटुवाहरूको जुत्ता पालिस गरे । नेपाली कांग्रेस शुद्धीकरण तथा सुदृढीकरण अभियानमा जुटेका चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका युवा नेताहरूले प्रतिकात्मक रूपमा गरेको उक्त अभियान निकै चर्चामा छ । यो अभियानलाई धेरैले सकारात्मक रूपमा लिएका छन् । राज्य सञ्चालनको मूल स्रोत भनेकै राजनीति हो । राजनीति धमिलो भयो भने जति प्रयास गरे पनि राज्यका निकायहरू सफा हुन सक्दैनन् । मुलुकले अपेक्षित उपलव्धी हासिल गर्न नसक्नुको मुख्य कारण राजनीति धमिलो हुनु हो भन्ने निष्कर्षमा सबै पुगेका छन् तर राजनीतिलाई सफा गर्ने संस्थागत गतिविधि भएको छैन । कुनै निश्चित घटना या परिघटनापछि युवाहरू जाग्ने तर केही दिन पछि शिथिल हुँदै जाने सिलसिला जारी छ । कांग्रेसका युवा नेताहरूले सुरु गरेको यो अभियान शिथिल हुनुहुँदैन ।

नेपाली कांग्रेस ०४८ साल यता सबैभन्दा लामोसमय सत्तामा रहेको पार्टी हो । कुनै पनि पार्टी जब लामोसमय सत्तामा रहन्छ तब पार्टीमा अवसरवादीहरू हावी हुँदै जान्छन् । पार्टीको संगठनमा तलदेखि माथि अवसरवादीहरू हावी हुने भएकोले बास्तविक इमानदार नेता तथा कार्यकर्ताहरू क्रमशः ओझेलमा पर्दै जान्छन् । फलस्वरूप पार्टी संगठन जर्जर हुन्छ । यतिवेला नेपाली कांग्रेसभित्र भएको त्यही हो । नेताहरूका कमीकमजोरी आप्mनैँ ठाउँमा छन् तर समग्रमा यो दोष पद्धतिको हो । हाम्रो जस्तो पार्टीभित्र आन्तरिक लोकतन्त्र संस्थागत हुन नसकेको अवस्थामा लामो सयम सत्तारूढ भएका पार्टीहरूको जे हालत हुन्छ आज नेपाली कांग्रेसको त्यही हालत भएको हो । नेपाली कांग्रेस कमजोर बनेको बाह्य कारण नभएर आन्तरिक कारण हो ।

०४८ साल यता पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियानका लागि प्रयास नभएका होइनन् । ०५१ सालमा गणेशमान सिंहको संरक्षकत्वमा जगन्नाथ आचार्यले जनजागरण अभियान सुरु गरेका थिए । तर, उनी असफल भए । कृष्णप्रसाद भट्टराईद्वारा पनि शुद्धीकरण अभियान सुरु नगरिएको होइन । पार्टीभित्र कायम भएको कोइरालाहरूको पारिवारिक दबदबा अन्त्यका लागि कृष्णप्रसाद भट्टराई स्वयंले नै शेरबहादुर देउवालाई अघि बढाएका थिए । तर, देउवा पार्टी सभापति बनेपछि कांग्रेसको अवस्था झन् जर्जर हुन पुग्यो । त्यसैले व्यक्तिभन्दा पनि पद्धतिको दोष हो भन्ने कुरामा अब सन्देह रहेन ।

जसरी राजनीति भनेको राज्य सञ्चालनको मूल स्रोत हो त्यसरी नै नेतृत्व भनेको पार्टी सञ्चालनको मूल स्रोत हो । विधान, पद्धति तथा प्रणालीलाई केन्द्रमा राखेर नेतृत्व अघि बढ्यो भने समस्या हुँदैन । तर, प्रायःजसो सत्तामा रहेका कारण कांग्रेसको नेतृत्व लोभीपापी तथा अवसरवादीहरूको प्रभावमा गाँजिदै गयो । कांग्रेसका युवा नेताहरूले सुरु गरेको अहिलेको अभियान नेतृत्वलाई सच्याउनका लागि दबाब हो भन्ने कुरामा सन्देश छैन । तर, अहिले पनि बिरालोको घाँटीमा घण्ट झुन्ड्याउने हिम्मत युवा नेताहरूले गरेको देखिएको छैन । पार्टी सभापति देउवाको कुनै एउटा गल्ती तथा कमजोरीले कांग्रेस यो अवस्थामा आएको होइन । १३औँ महाधिवेशनद्वारा पार्टी सभापति भएपछि देउवाद्वारा शृंखलावद्ध रूपमा गल्ती हुँदै आएका छन् ।

सभापति बन्ने बित्तिकै पार्टी संगठन सुदृढीकरणमा भन्दा प्रधानमन्त्री बन्न हतार गर्नु देउवाको सुरुको कमजोरी हो । यो कमजोरीमा अन्य नेता तथा कार्यकर्ताहरू तमासे बने । प्रधानमन्त्री बनेपछि देउवाले अलोकप्रिय काम गर्दै गए तर पार्टीभित्र कसैले आवाज उठाएनन् । पार्टी संगठन विधानविपरीत चलाउँदै जाने र सरकारमा रहेर जनताले नरुचाउने निर्णय गर्दै जाने देउवाको कदमलाई पार्टीभित्र कसैले विरोध गरेनन् । सबै नेता तथा कार्यकर्ताहरू आश र त्रासको उझिन्डोमा टाँगिए । पार्टी सत्ता र राज्य सत्ता दुवै देउवाको हातमा भएका कारण त्यतिवेला युवा नेताहरूले त्यो जोखिम नलिएका हुन सक्छन् । तर, अब देउवासँग राज्य सत्ता छैन । पार्टीका इमानदार कार्यकर्ताहरू यतिवेला पनि संगठित भएर अघि बढ्न सकेनन् भने कांग्रेस नसुध्रने निश्चित छ । कांग्रेस सुध्रिएन भने लोकतन्त्रको संस्थागत विकासको बाटो असहज हुन्छ । नसुध्रेको कांग्रेसले निर्वाह गर्ने प्रतिपक्षको भूमिकालाई जनताले साथ दिँदैनन् । ँ

प्रतिक्रिया