
काठमाडौं । सुनिल श्रेष्ठ र प्रतीक्षा खड्काले भ्याली पब्लिक मिनी म्यारथनमा मंगलबार स्वर्ण जितेका छन् । छात्रतर्फ ५ किमी दौडमा लक्ष्मीपुर स्कुलका सुनिलले स्वर्ण जित्दा माउन्ट कैलाशका सन्देश कार्कीले रजत जिते । रिपुमर्दिनी सैनिक स्कुलका किरण अधिकारी तेस्रो भए । ओलम्पियन वैकुन्ठ मानन्धरले उद्घाटन गरेको भ्याली पब्लिक मिनी म्यारथनअन्तर्गत छात्रातर्फ ३ किमी दौडमा रिपुमर्दिनी सैनिक स्कुलकी प्रतीक्षा खड्काले स्वर्ण जितिन् ।
रिपुमर्दिनी स्कुलकी पुष्पा रोकायले रजत जित्दा हिमालय हेल्प चिल्डेन एकेडेमी (एचएचसिए) की अनिता सुनुवारले कांस्य हात पारिन् ।बुढानीलकण्ठबाट सुरु भएको छात्रतर्फको ५ किमी दौड आयोजक भ्याली पब्लिक स्कुलमा आएर सम्पन्न भएको थियो । छात्रातर्फको ३ किमी दौड सुकेधाराबाट सुरु भएर भ्याली पब्लिक स्कुलमा आएर सम्पन्न भएको थियो । भ्याली पब्लिक स्कुलको रजत महोत्सवका अवसरमा आयोजित मिनी म्याराथनका विजेतालाई ओलम्पियन वैकुन्ठ मानन्धरले पुरस्कृत गरे ।
सो अवसरमा विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले ओलम्पियन मानन्धरलाई मायाको चिनो दिएर सम्मान गरे । प्रतियोगिताका विजेताले ५ हजार, उपविजेताले ३ हजार र तेस्रोले २ हजार नगदसमेत प्राप्त गरे । मिनी म्याराथनमा २९ विद्यालयका १ सय ६१ छात्र–छात्राले सहभागिता जनाएका थिए । रजत महोत्सवको अवसरमा यसै साता अन्तरविद्यालय फुटबल प्रतियोगिता पनि हँुदैछ ।
प्रतिक्रिया