रोजगारीका लागि दैनिक सयौँको संख्यामा युवा पलायन भइरहेको अवस्थामा पश्चिम पहाडको विकट जिल्ला कालिकोटमा उदाहरणीय काम सुरु भएको छ । युवालाई विदेश पलायन हुनबाट रोक्न कालिकोटको पलाता गाउँपालिकाले नयाँ र प्रशंसायोग्य काम सुरु गरेको छ । गाउँपालिकाले युवालाई विदेश जानबाट रोक्ने मात्र होइन, गाउँमै विदेशको भन्दा राम्रो रोजगारी पनि दिएको छ । युवामैत्री नीति तथा कार्यक्रम बनाएर गाउँपालिकाले युवालाई रोजगारी दिन सुरु गरेको हो । युवालाई भौतिक पूर्वाधार निर्माणका काममा लगाइएको छ । युवा परिचालनका लागि गाउँपालिकाले युवा कार्यदल गठन गरेको छ । कार्यदलले उपभोक्ता समितिसँग मिलेर काम गर्दछ । गाउँपालिकाले पहिलो चरणमा १ सय युवालाई बेग्लै पोसाक दिएर १ लाख ५० हजार रुपैयाँको बिमासहित काममा लगाउने गृहकार्य सुरु गरेको छ । उनीहरू दैनिक आठ घण्टा काम गर्छन् । त्योबापत उनीहरूले आठ सय रुपैयाँ पारिश्रमिक पाउँछन् । दैनिक आठ सयका दरले महिनामा २४ हजार युवा कार्यदलका सदस्यको तलब तोकिएको छ ।
गाउँपालिकाले गरेको यो उदाहरणीय कामपछि गाउँबाट विदेश जाने युवाको संख्या पनि घटेको छ । विदेशमा पनि खाडी मुलुकमा नेपाली कामदारले पाउने तलब २० देखि २५ हजारको हाराहारीमै छ । आफ्नै घरमा बसेर गाउँको विकास गर्ने त्यहाँका युवालाई योभन्दा राम्रो अवसर अर्को हुनै सक्दैन । पलाता गाउँपालिकाले गरेको यो उदाहरणीय कामलाई देशभर पु¥याउनुपर्छ । युवा पलायन रोक्न सके मात्र देशको विकास सम्भव छ । अहिले नेपाली समाज युवाविहीन बन्दै गएको छ । युवा विदेश पलायन भएपछि गाउँमा वृद्ध, महिला, बालबालिका र अशक्त मात्र रहेपछि उत्पादन शून्यतर्फ ओरालो लाग्ने र बाध्यात्मक अवस्थामा भएको जनसंख्या पनि गाउँ छोड्नुपर्ने अवस्था छ । यही अवस्थाकै कारण हिमाली र पहाडी क्षेत्रका सयौँ गाउँ मानवरहित भइसकेका छन् । मुलुकले यसको दीर्घकालीन असर भोग्नुपर्ने निश्चित छ । काम गर्न सक्नेजति सबै पलायन भएपछि उत्पादन घट्ने र हरेक वर्ष भोकमरीको समस्या युवाविहीनताकै परिणाम हो । सरकारले यस विषयमा कुनै चासो लिएकै छैन । हाम्रा सबैखाले युवालाई पलायन हुनबाट रोक्न सकिएन भने देशको अवस्था अझ भयावह बन्दै जाने कुरालाई नकार्न सकिन्न ।
पलाता गाउँपालिकाको उदाहरणीय कदमलाई देशभर पु¥याउन सरकारले तत्कालै कदम चाल्नुपर्छ । हरेक गाउँलाई अहिले पैसाको नभएर जाँगरिला युवाको खाँचो छ, युवालक्षित अवसरको खाँचो छ । सिंहदरबारदेखि दुर्गम हिमाली क्षेत्रका गाउँमा समेत युवाको आवश्यकता छ । युवालाई परिचालन गरे मात्र देशको विकास हुन्छ र तीव्र समृद्धिको बाटोमा अघि बढ्न सकिन्छ भन्ने कुरालाई सरकार र राजनीतिक दलले बिर्सनुहुन्न ।
प्रतिक्रिया