काठमाडौं । त्रासदिपूर्ण घटनाका रूपमा परिचित दोस्रो विश्वयुद्धताका तस्बिर प्रदर्शनी सुरु भएको छ । सो विश्वयुद्धमा होलोकोस्ट (अग्निदाह) घटनाका रूपमा परिचित विविध विषयका तस्बिरको प्रदर्शनी यस वर्ष पनि नेपाल आर्ट काउसिन्सलमा गरिएको हो । होलोकोस्टको इतिहास जटिल विषय हो । ग्रिक भाषामा होलोकोस्टको अर्थ अग्निदाह हो । नाजीले त्यसवेला ६० लाख यहुदीलाई मार्ने योजना बनाएको बताइन्छ ।
यस कार्यमा नाजी र तिनका सहयोगीको संगठित, प्रशासनिक तथा राज्यको योजना थियो । नाजी जर्मन पार्टीले जर्मनी सन् १९४१ देखि १९४५ सम्म आफ्नो नियन्त्रणमा रहेका भूभाग र अन्य देशका १०औँ लाख यहुदीलाई विभिन्न बन्दीगृह र हत्या केन्द्रमा स्थानान्तरण गरेको थियो । मानव इतिहासमै कहालीलाग्दो घटनाका रूपमा चिनिने ग्यास च्याम्बरमा नाजीले तिनीहरूको आमहत्या गरेका थिए ।
जर्मनीविरुद्धका गठबन्धन सेनाले विश्वयुद्धको अन्तिम महिनामा व्यापक आक्रमण गर्न थालेपछि ठूलो संख्यामा यहुदीलाई स्वतन्त्र गरिदिने भयले एसएस गार्डले रेलबाट एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गरेका थिए । मानव उन्मूलन शिविर भनेर चिनिएको ग्यास च्याम्बर नाजीको सबैभन्दा क्रूरता र अमानवीय कार्यको रूपमा चिनिन्छ । गठबन्धन सेनासमक्ष जर्मन सेनाले सन् १९४५ मे ७ मा निःसर्त आत्मसमर्पण गरेको थियो ।
दोस्रो विश्वयुद्धमा ठूलो मानवसंहार भएको घटनालाई स्मरण गर्दै त्यस्तो घटना फेरि नदोहोरियोस् भनेर प्रदर्शनीको आयोजना गरिएको इजरायली दूतावासका अधिकारी केशव श्रेष्ठले बताए । उनले भने, ‘त्यसवेलाको होलोकोस्ट घटना स्मरण गराउन प्रदर्शनी आयोजना गरिएको हो ।’ प्रदर्शनी चार वर्षदेखि आयोजना गरिँदै आएको तस्बिर प्रदर्शनी होलोकोस्टको पूर्वसन्ध्यामा गरिएको हो । प्रदर्शनी संयुक्त राष्ट्रसंघ, जर्मनी तथा युरोपेली संघ र इजरायलको संयुक्त आयोजनामा भएको हो । तीन दिनसम्म चलेको सो प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ ।
प्रदर्शनीमा स्लोभाकिया र हाइफा पोर्टमा होलोकोस्ट घटनाबाट बाँचेका यहुदी केटाकेटीका तस्बिर राखिएका छन् । दोस्रो विश्वयुद्धताका रुसको जंगलमा जर्मन सेनाको नियन्त्रणमा रहेको ‘सायद भेरी सायद’, आम्स्टर्डमबाट निकालिएका मानिसको हृदयविदारक तस्बिर, सन् १९४१ जुन २२ मा जर्मन सेनाले सोभियत संघमाथि गरेको आक्रमण लगायतका तस्बिर प्रदर्शनीका विशेष आकर्षण रहेका थिए । त्यस्तै, आमनरसंहारसम्बन्धी चलचित्र नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया