बहसः शिक्षामा सेमेस्टर प्रणाली !

-सुस्मिता लाल  त्रिभुवन विश्वविद्यालयले यसपालिदेखि सबै क्याम्पसहरूमा सेमेस्टर प्रणाली सुरु गरेको छ । त्रिविले यस वर्षदेखि उपत्यकाका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु गरेको छ । सेमेस्टर प्रणलीमा ६ महिनाको एक शैक्षिक सत्र हुन्छ र प्रत्येक ६ महिनामा भर्ना, अध्यापन र परीक्षा सकेर सातौँ महिनामा अर्को सेमेस्टर सुरु गरिन्छ । यो प्रणाली त्रिभुवन विश्वविद्यालय (त्रिवि) का लागि नयाँ होइन । ०२८ सालमा नयाँ राष्ट्रिय शिक्षा पद्घतिको योजना निर्माण भएपछि त्रिविमा ०३० सालमा सेमेस्टर प्रणाली लागू गरिएको थियो । तर, उक्त लागू भएको ६ वर्ष पुग्न नपाउँदै ०३६ सालमा फेरि वार्षिक प्रणालीमा आएको थियो ।

सेमेस्टर प्रणाली मेडिकल, इन्जिनियरिङ, फरेस्ट्री र कृषिजस्ता प्राविधिक विषयमा लागू गरिए पनि धेरै विषयमा लामो समयसम्म वार्षिक प्रणालीमा नै अध्यापन गराउँदै आइरहेको थियो । ०७० सालमा त्रिविले आफ्ना सबै शैक्षिक कार्यक्रमलाई फेरि सेमेस्टर प्रणालीमा ढाल्ने प्रस्ताव गरेपछि यसका पक्ष र विपक्षमा सरोकारवालाबीच निकै बहस भएको थियो । यसो हुँदाहुँदै पनि त्रिविले सेमेस्टर प्रणाली लागू गरेको छ । सेमेस्टर प्रणाली लागू गर्नुपूर्व नै सरोकारवालाले पहिला भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्छ भनेर सुझाए पनि त्रिभुवन विश्वविद्यालयले एकोहोर प्रवृत्ति देखाएर जबरजस्ती शैलीमा सेमेस्टर प्रणाली लागू गराएको थियो ।

त्रिवि केन्द्रीय क्याम्पसमा लागू गर्नुपूर्व नै सबै क्याम्पसमा पूर्वाधार विकास गर्नुपर्ने आवाज उठे पनि त्यसो हुन सकेको थिएन । अहिले त्रिविले उपत्यकाका क्याम्पसमा स्नातकोत्तर तहमा पनि सेमेस्टर प्रणाली लगाउने तयारी भइरहँदा यसका लागि आवश्यक संरचना नभएको पाइएको हो । यसका साथै आवश्यक जनशक्तिको समेत अभाव देखिएको छ । जसका कारण सेमेस्टर प्रणाली अहिले निल्नु न ओकल्नुजस्तो भएको छ ।

काठमाडौं उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमै सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन गर्न आवश्यक पूर्वाधार नरहेपछि यो प्रणाली नै असफल हुने सम्भावना बढेको छ । त्रिविले गठन गरेको अध्ययन समितिको अध्ययनका क्रममा आवश्यक पूर्वाधार नभएको पाइएको हो ।

सेमेस्टर प्रणालीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन्छ ः  देवराज अर्याल उपप्रध्यापक एवं प्रगतिशील प्रध्यापक संघका केन्द्रीय सदस्य

सेमेस्टर प्रणालीले विद्यार्थीलाई अनुशासित बनाउँछ । यस प्रणाली अनुसार वर्षको दुईपटक परीक्षा हुने गर्छ । जसले गर्दा विद्यार्थीलाई विषयवस्तु बुझ्न पनि धेरै समय लाग्दैन र उनीहरूलाई यसले ज्यादै नै क्रियाशील बनाउँछ । सेमेस्टर प्रणालीको परीक्षाको नतिजा पनि राम्रो हुन्छ । यस प्रणालीले गर्दा अहिले विद्यार्थीको रुचि अध्ययनमा निकै नै बढिरहेको छ । सेमेस्टर प्रणाली विद्यार्थीको भलाइका लागि ल्याइएको प्रणाली हो । यस प्रणालीले विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने गर्छन् । सेमेस्टर प्रणालीमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नु ज्याँदै नै सकारात्मक कुरा हो ।

यस प्रणालीले विद्यार्थीलाई परीक्षामुखी र नोट रटेर पढ्ने बानीको समेत अन्त्य गरिदिन्छ । यस प्रणालीले विद्यार्थीलाई बढी क्रियाशील बनाउने काम गर्छ । यस प्रणालीले विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि अनुसन्धान गर्न अघि बढाउँछ । सेमेस्टर प्रणालीले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा पनि दक्ष शक्ति उत्पादन गर्न मद्दत गर्छ । यो प्रणालीले विद्यार्थीलाई निकै नै अनुशासित बनाउने काम पनि गरेको छ । सेमेस्टर प्रणालीले गर्दा विद्यार्थीलाई विषयवस्तु बुझन पनि धेरै समय लाग्दैन र उनीहरूलाई यसले ज्याँदै नै क्रियाशील पनि बनाउन मद्दत गर्छ । अहिले सेमेस्टर प्रणाकोे फिस पनि ज्यादै महँगो छैन ।

यस प्रणालीले विद्यार्थी, शिक्षकलाई प्रयोगात्मक बनाउने काम गर्छ ।त्यसैले गर्दा यो प्रणाली ज्याँदै नै राम्रो प्रणाली हो । यो प्रणालीलाई परिवर्तन गर्नु हुँदैन । सेमेस्टर प्रणालीबाट आएको नतिजा पनि राम्रो नै रहेको छ । यस प्रणालीले गर्दा अहिले विद्यार्थीको रुचि पढाइमा निकै नै बढेको छ । सेमेस्टर प्रणाली विद्यार्थीको क्षमता जाँचमा वार्षिक परीक्षा पद्धतिको तुलनामा अब्बल दर्जाको नै रहेको छ । सेमेस्टर प्रणालीसँगै विश्वविद्यालय तहको अध्ययन अध्यापन नियमित भएको छ ।

यसले प्राध्यापकहरूलाई नियमित बनाएको छ, विद्यार्थीलाई नियमित बनाएको छ र पाठ्यक्रममा तोकिएकै क्रेडिट आवर अनुसार पठनपाठन संभव भएको छ ।  यो प्रणालीमा दक्ष प्राध्यापकको चयन, नियमित पठनपाठन, नयाँ ज्ञानको प्रवाह, आन्तरिक मूल्यांकनमा चुस्तता, विद्यार्थीले कमीकमजोरी सुधार्ने अवसर, पाठ्यक्रमको निरन्तर सुधार, थोरै समयमा धेरै ज्ञान प्रदानको अवसर, पढ्दै बढ्दै जाने सिद्धान्त, परीक्षाको त्रासबाट मुक्त बनाएको छ ।

विद्यार्थीको हकमा नियमित हाजिरीको व्यवस्था लागू भएको छ । बोर्ड परीक्षामा सामेल हुन पाउनका लागि ८० प्रतिशत हाजिरी अनिवार्य गरिएको छ र हाजिरीबापत परीक्षामा प्रत्येक विषयमा पाँच अंक दिने व्यवस्था गरिएको छ । अहिले सेमेस्टर सिस्टमको पहिलो सेमेस्टरको परीक्षामा विद्यार्थी उत्तीर्ण संख्या औसतमा ७५ प्रतिशत रहेको देखिन्छ । यसले पठनपाठन अनावश्यक राजनीतिक प्रभावबाट मुक्त भएको छ र सबै विद्यार्थी आफ्नो पढाइमा बढी केन्द्रित भएको पाइन्छ ।

विनाकुनै अध्ययनले आएको सेमेस्टर प्रणालीले विद्यार्थीलाई समस्या ःप्राडा विद्यानाथ कोइराला (शिक्षाविद्)
सेमेस्टर प्रणाली राम्रो हो तर हाम्रो देशमा विनाकुनै अध्ययन नै यो प्रणाली लागू गरिएको छ । शिक्षण प्रणाली विद्यार्थीलाई सजिलो पार्ने खालको हुनुपर्छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार सेमेस्टर प्रणालीमा पढाउने प्राध्यापक आफैँले पाठ्यक्रम बनाउँछन् र आफैँ विद्यार्थीको मूल्यांकन गर्छन् । तर, हाम्रोमा परीक्षा नियन्त्रण कार्यालय वा डिन कार्यालयले परीक्षा लिन्छ । त्रिवि सेमेस्टर प्रणालीमा आन्तरिक रूपमा प्राध्यापकले ४० प्रतिशत मूल्यांकन गर्छन् ।

६० प्रतिशत मूल्यांकन पुरानै शैलीबाट हुन्छ । एक सेमेस्टरमा ८० प्रतिशत हाजिरी नपु¥याएर विद्यार्थी परीक्षामा सामेल हुन नपाउने प्रावधान रहेको छ । सेमेस्टर प्रणालीको पाठ्यक्रम छोटो समयमा सक्नुपर्ने हुन्छ, जसले विद्यार्थीले चाहेजति पढ्न र अनुसन्धानात्मक कार्य गर्न पाउँदैनन् । उनीहरूको ध्यान पाठ्यपुस्तक पढ्नुभन्दा कक्षाकोठामा शिक्षकद्वारा के पढाइयो भन्नेमा नै बढी केन्द्रित हुन्छ ।

त्यसकारण उनीहरूको अध्ययनको दायरा र ज्ञान संकुचित हुन्छ र सिकाइ पाठ्यपुस्तकभन्दा शिक्षकले कक्षाकोठामा पढाएको कुरामा भर पर्छ । हुन त यो प्रणाली राम्रो प्रणाली हो तर हाम्रो देशमा सेमेस्टर प्रणाली विनाकुनै अध्ययन र अनुसन्धानले आएको हो । यस प्रणालीले हाम्रो देशका विद्यार्थीलाई गुणस्तर शिक्षा कहिल्यै पनि दिँदैन ।

हाम्रो देशमा सेमेस्टर प्रणाली २०२८ को नयाँ शिक्षा नीति लागू भएपछि आएको थियो, तर युरोपेली शिक्षा पद्धतिमा त्रिविलाई लैजाने भन्दै ०३६ सालमा सेमेस्टर प्रणाली खारेज गरिएको थियो । तर, अहिले फेरि त्रिविले सेमेस्टर प्रणाली ल्याएको छ । अहिलेसम्म कति ठाउँमा त सेमेस्टर प्रणालीको पाठ्यक्रम पनि निर्माण भएको छैन । जसले गर्दा यसले विद्यार्थीलाई मात्र नभई शिक्षकहरूलाई पनि गाह्रो बनाएको छ । शिक्षण प्रणाली भनेको विद्यार्थीलाई सजिलो पार्ने प्रणाली हो, न कि उनीहरूलाई समस्यामा पार्नका लागि बनेको हो । अरू शिक्षण प्रणालीभन्दा सेमेस्टर प्रणाली ज्याँदै नै महँगो प्रणाली पनि हो ।

सरकारी कलेजमा पढ्ने धेरै विद्यार्थीहरू गरीब परिवारबाट आएका हुन्छन् । त्यसैले गर्दा उनीहरूले सेमेस्टर प्रणालीमा महँगो पैसा तिरेर पढ्न सक्दैनन् । त्यसैले हामीले विद्यार्थीहरूको भलाइका लागि यस प्रणालीलाई हटाउनुपर्छ । हाम्रो देशमा सेमेस्टर प्रणाली भएर पनि अहिले धेरै विद्यार्थीको नतिजा राम्रो आएको छैन । त्रिविले विद्यार्थीको गे्रडिङ सुधार गर्न नसकेपछि सेमेस्टर प्रणालीलाई विकल्पको रूपमा ल्याएको हो । सुरुमा त्रिविले अन्तर्राष्ट्रिय मापदण्डको अनुसारको सेमेस्टर सुविधा दिइने भनेर विद्यार्थीसँग बढी पैसा लिने काम गरेको थियो । तर, सेमेस्टर प्रणालीको परीक्षा समयमा नभएर विद्यार्थी समस्यामा परेका छन् ।

 

प्रतिक्रिया