प्रदेशका अवसर र चुनौती

पहिलोपटक प्रदेश संसद्ले आइतबारदेखि औपचारिकता पाएको छ । आइतबार सातै प्रदेशका सांसदले आफ्नो अस्थायी राजधानीमा शपथ लिएपछि प्रदेश संसद्ले औपचारिकता पाएको हो । योसँगै अब प्रदेशमा सरकार गठनप्रक्रिया अघि बढ्ने बाटो खुलेको छ । ठ्याक्कै एकै समयमा नभए पनि सबै प्रदेशमा उत्साहपूर्वक शपथग्रहण पूरा भएको छ ।

प्रदेश प्रमुखले प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्यलाई शपथ गराएपछि उनले बाँकी सदस्यलाई शपथग्रहण गराएर प्रदेशसभाले औपचारिकता पाएको हो । प्रदेशसभाले सभामुख चयन नगरुन्जेल तिनै ज्येष्ठ सदस्यले प्रदेश संसद्को सभामुखको भूमिका निर्वाह गर्नेछन् । अब मुलुकमा पहिलोपटक प्रदेश सरकारले काम सुरु गर्नेछ । पहिलो अभ्यास भएकाले प्रदेश सरकारसामु समस्या र चुनौतीको चाङ लागेको छ । प्रदेश सरकारको पहिलो चुनौती भनेको पूर्वाधार निर्माण हो ।

प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयमा प्रदेश संसद्को दुईतिहाइ बहुमतले निर्णय गर्नेछ । तर, राजधानी जहाँ बनाए पनि सबै प्रदेशमा तत्कालका लागि पूर्वाधार निर्माण मुख्य चुनौतीका रूपमा देखिएको छ । अहिले आफ्ना प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख तथा प्रतिनिधिहरूलाई कहा“ राख्ने र बैठक कहाँ, कसरी गर्ने भन्ने अधिकांश प्रदेशमा चुनौती छ ।

पूर्वाधार निर्माणपछि प्रदेश सरकारलाई अर्को चुनौती स्रोतव्यवस्थापनको हुनेछ । जनआकांक्षा अत्यधिक भएकाले त्यसलाई सम्बोधन गर्न प्रदेश सरकारलाई अत्यधिक स्रोत आवश्यक हुनेछ । त्यसको व्यवस्थापन त्यति सहज छैन र हुनेछैन । भौगोलिक विकटताले प्रदेशका सबै ठाउँमा पूर्वाधार निर्माण, क्षमता अभिवृद्धि, जीवनस्तर सुधार, दिगो विकासलगायत समस्याको एकसाथ सम्बोधन गर्नु प्रदेश सरकारका लागि अर्को चुनौती हुनेछ । स्थानीय तहको व्यवस्थापन प्रदेश सरकारका लागि अर्को तत्कालको चुनौती हुनेछ ।

प्रदेश सरकारका लागि अर्को चुनौती भनेको अर्को प्रदेशसँगको सम्बन्ध व्यवस्थापन पनि हो । एउटै स्रोतको प्रयोग दुई वा सोभन्दा बढी प्रदेशले गर्नुपर्ने भएकाले त्यसको प्रयोगमा अर्को प्रदेशसँगको सम्बन्ध कस्तो रहन्छ भन्ने अर्को चुनौती हो ।

यी समस्यैसमस्याको चाङमा पनि प्रदेश सरकारसँग पर्याप्त अवसर छन् । काम गर्न सकेमा प्रदेशमा अथाह सम्भावना छन् । त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सरकारको विवेक, क्षमता, दक्षता र इच्छाशक्तिमा भर पर्दछ । सरकारको गलत मनसाय भएन र साँच्चीकै प्रदेशको विकास गर्छु भन्ने अठोट भयो भने माथिका सबै समस्या फिका साबित हुनेछन् ।

सबै प्रदेशले आफूसँग भएको स्रोतको सही पहिचान र प्रयोग गर्न सक्यो भने मुलुक तीव्र गतिमा समृद्धिको बाटोमा अघि बढ्ने कुरालाई नकार्न सकि“दैन । प्रदेश सरकारमा युवाको बाहुल्य रहेकाले पनि प्रदेशको आर्थिक उन्नति सकारात्मक बाटोमा जानुपर्छ । नया“ अभ्यासका साथ प्रदेश सरकारले औपचारिकता पाएको छ । सबै प्रदेश सरकारलाई शुभकामना ।

प्रतिक्रिया