डा. डिआर उपाध्याय
चार पटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले यसपटक जनताबीच मत माग्न जाँदा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका पालामा भएका उपलब्धिलाई मात्रै अघि सारे । आजभन्दा ६० वर्षअघि बिपी कोइराला १८ महिना प्रधानमन्त्री हुँदा जे–जे काम गरेका थिए चार पटक प्रधानमन्त्री भएका देउवाले तिनै कामलाई भजाए । आफूले चार पटक प्रधानमन्त्री हुँदा मुलुकका लागि के–के योददान गरेँ ? भन्ने कुरा देउवाले जनताबीच लैजान सकेनन्, त्यही कारण कांग्रेसले चुनाव हारेको हो । मुलुकको राजनीतिमा अब देउवा असान्दर्भिक भएका छन् । देउवा जबसम्म नेतृत्वमा रहन्छन् तबसम्म कांग्रेसलाई जनताले विश्वास गर्छन् भन्ने कुरा कसैले नसोचे हुन्छ ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेको हो । आफैँले गराएको चुनावमा लज्जास्पद हार व्यर्होनुपर्दा कसलाई दुःख लाग्दैन र ? अहिले सबैभन्दा बढी दुःख कांग्रेस पार्टीलाई लागेको छ । ०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेस एक्लैले १ सय ९ सिटमा ७४ सिट जितेको थियो । विगतमा नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी थियो । पहिलो संविधानसभाको चुनावमा दोस्रो पार्टी बनेको थियो । दोस्रो संविधानसभाको चुनावमा सबैभन्दा ठूलो बन्न सफल भएको थियो । तर, आज प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कमजोर पार्टीका रूपमा देखा परेको छ । मतगणनाको नतिजाले के देखाउँछ भने अब नेपाली कांग्रेस आउँदो पाँच वर्षका लागि प्रमुख प्रतिपक्षी दलको रूपमा रही रचनात्मक भूमिका खेल्नुपर्ने आवश्यकता छ । निर्वाचनको मतपरिणामले शेरबहादुर देउवाको नेतृत्व कांग्रेसका लागि असफल भयो भनेर कांग्रेसभित्रैबाट विरोध हुन थालेको छ ।
त्यसो होइन यो परिस्थितिको उपज हो । स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीबीच चुनावी तालमेल गर्दा राम्रै मतपरिणाम आएको थियो । अब नेतृत्वलाई गाली गरेर र मनोबल गिराएर कांग्रेस सप्रिनेवाला छैन । अब कांग्रेस पार्टीले तलदेखि माथिसम्म संगठन चुस्त–दुरुस्त र सदृढीकरण गरेर जानुपर्छ । देउवाकै नेतृत्वमा स्थानीय तहको चुनाव र प्रदेश र प्रतिनिधिसभा चुनावमा कांग्रेस पराजति हुन पुग्यो भन्ने देउवामाथि आरोप पनि लागेको छ । त्यो पार्टीभित्रको आन्तरिक कुरा हो । देशको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको पार्टी हो नेपाली कांग्रेस, संविधान जारी गर्न सफल र तिनै तहको निर्वाचन सम्पन्न गरी संक्रमणकाल अन्त्य गरेको छ । आफू हारेर पनि राष्ट्रलाई हार्न दिएको छैन । कांग्रेस हार्नुका केही महत्वपूर्ण कारण छन् । भारतले नेपालमाथि लगाएको नाकाबन्दीमा स्पष्ट धारणा राख्न नसक्नु नै हो । अर्को कुरो, आइजिपी प्रकरण र त्यससँग जोडिएको प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव ल्याउनु, लोकमानसिंह कार्की प्रकरणमा स्पष्ट धारणा राख्न नसक्नु लगायतका कारणहरू छन् ।
जसले गर्दा नेपाली कांग्रेसले अहिलेको निर्वाचनमा पराजय भोग्नुपरेको हो । कांग्रेसले सरकारमा रहेको वेला जनतालाई राहत पुग्ने काम पनि खासै गर्न सकेन । कांग्रेस सधैँका लागि हारेको छैन । यो आवधिक निर्वाचन हो । नेपाली कांग्रेसले आफ्ना विगतका कमी–कमजोरी गल्तीलाई सुधार गर्दै लाने हो भने र प्रमुख प्रतिपक्षी दलको भूमिका सशक्त रूपमा खेल्न सक्यो भने आगामी निर्वाचनमा प्रमुख दल बन्न सक्छ । यो चिन्ता गर्ने विषय होइन । यसर्थ हारको कारण पत्ता लगाउँदै सुधारको बाटोतर्फ प्रस्थान गर्नुमै कांग्रेसको हित हुनेछ । यतिवेला कांग्रेस निर्वाचनको मतपरिणाम बाट हतोत्साही बनेको छ । अधिकांश समय सत्ता स्वार्थमा रुमलिनु, देश र जनतको पक्षमा केही काम नगर्नु नै पराजयको परिणाम हो । वाम गठबन्धनका कारण मात्र नेपाली कांग्रेस पराजित भएको होइन । कांग्रेस पार्टीका जिम्मेवार व्यक्तिहरू पदमा मात्र सिमित भए । देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने काममा कहिल्लै ध्यान दिएन ।
शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त समाज निर्माणमा कांग्रेसको कुनै दिन ध्यान गएन । भूकम्प पीडित र बाढी पीडितका लागि कांग्रेसले सिन्कोसम्म भाँचेन । यी कुरालाई कांग्रेसले स्विकार्नुपर्छ । सत्तामा रहेका वेला भूकम्प पीडित र बाढी पीडित सर्वसाधारणका जन–जीविकाको सवालमा कांग्रेस पार्टी सरकारमा रहँदा पनि किन जिम्मेवार बनेन ? सरकारको नेतृत्व गरेर वा सरकारमा सहभागी भएका वेलामा पनि राहतको काम किन अघि बढाउन सकेन ? अब कांग्रेस आफूलाई सुधार्ने काम गर्नुपर्छ । सरकारमा बसेका वेला कांग्रेस नेतृत्वले जनभावना विपरीतका काम ग¥यो । नेतृत्वको अदूरदर्शिता देखियो । निर्वाचनको मुखमा आएर कांग्रेसको सरकारले कार्यकर्तालाई राज्यकोषबाट करौडौँ रकम बाँडेको थियो । यो जनताले मन पराएका थिएनन् । कांग्रेसले मुख्य चुनावी एजेन्डा बोकेर हिँड्न सकेन । वाम गठबन्धनको जस्तो ठूला–ठूला आमसभा गर्न सकेन ।
सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस पार्टी एकाएक कमजोर हुनु दुःखको कुरा हो । किन नेपाली कांग्रेस पार्टीले पराजय भोग्नु प¥यो ? यो पार्टी कमजोर हुनुको कारण के हो ? यसबारे पार्टीभित्र गम्भीर छलफल र समीक्षा हुन जरुरी छ । के नेपाली कांग्रेसका सभापति देउवाले पार्टी सञ्चालन गर्न नसकेकै हुन त ? यो कुरामा कांग्रेस पार्टीभित्रै गम्भीर प्रश्न उठेको छ । चुनावी घोषणा पत्रमार्फत वाम गठबन्धनले स्थिर सरकार समृद्धि र विकासको मूल एजेन्डा बोकेर चुनावी अभियानमा लागे । जनताले खोजेको नै यही कुरा रहेछ । नेपाली कांग्रेस पार्टीले चुनावी एजेन्डा राम्रो बोक्न सकेन । कांग्रेसले अधिनायकवादको खतरा योबाहेक अरू केही चुनावी एजेन्डा लिएर हिँड्न सकेन । वामपन्थीलाई गाली गर्नेबाहेक अरू केही गर्न सकेन । जसको कारण कांग्रेसले हार व्यर्होर्नुप¥यो । कांग्रेसले धेरैजसो ठाउँमा पुरानै असफल अनुहारहरूलाई उम्मेदवार बनायो । ती उम्मेदवारहरूलाई जनताले मन पराएका पटक्कै थिएनन् । वास्तवमा भन्ने हो भने कांग्रेस पार्टी लामो समयदेखि लथालिङ्ग अवस्थाबाट गुज्रिरहेको छ । पार्टीलाई चलायमान र गतिशील बनाउन नेतृत्व असफल भएकै हो ।
तेह्रौँ महाधिवेशन सकिएको दुई वर्ष पुग्न लाग्दासमेत कार्यसमितिले अझैसम्म पूर्णता पाउन सकिररहेको छैन । पार्टीमा उपसभापति, महामन्त्री, सहमहामन्त्री अझैसम्म मनोनीत हुन सकिरहेका छैनन् । पार्टी सभापति देउवा यस विषयमा असफल भएकै हुन् । कांग्रेसको विधानमा महाधिवेशन सकिएको दुई महिनाभित्रै केन्द्रीय समिति पूर्णतादेखि विभागसम्म पूर्ण गराउनुपर्ने व्यवस्था छ । ती विभाग गठन भएको भए ठूलो संख्यामा कांग्रेसका नेता कार्यकर्ता चलायमान हुन्थ्यो र पार्टी तलसम्म गतिशील हुन्थ्यो । कांग्रेस पार्टी आफ्नै नेतृत्वका कारण संकटमा परेको छ । पार्टी सभापति देउवा पार्टी र सरकार सञ्चालन दुवैतर्फ विफल देखिएका छन् । लोकतन्त्र र चुनावी प्रक्रियामा हारजित भइरहन्छ । यो प्रक्रिया चलिरहने कुरा हो । हारबाट शिक्षा लिँदै परिवर्तित परिस्थितिमा ठोस निर्णय लिन सकेको खण्डमा कुनै पनि दललाई फेरी पुरानो ठाउँमा आउँन गाह्रो हँुदैन । ०६४ को पहिलो संविधानसभामा तेस्रो स्थानमा रहेको एमाले अहिले प्रमुख दल बन्न सफल भएको छ । यो जनताको मूल्यांकन र विश्वास हो ।
पहिलो संविधान सभामा माओवादी पहिलो शक्ति बनेको थियो । दोस्रो संविधानसभामा तेस्रो स्थानमा झर्न बाध्य भएको थियो । लोकतन्त्रमा यो चलिरहने प्रक्रिया हो । कांग्रेसले आफूलाई आगामी पाँच वर्षसम्म प्रतिपक्षको भूमिकामा केन्द्रित गर्नुपर्छ । लोकतन्त्रलाई जीवन्त बनाउन पनि सबल प्रतिपक्षको खाँचो छ । यो हारले कांग्रेस हतोत्साहित हुनु हुदैन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ को नतिजा हेर्दा एमाले धेरै लोकप्रिय देखियो । अब सरकारमा गएर राम्रा–राम्रा काम ग¥यो भने झन लोकप्रिय बन्न बेर लाग्दैन । कांग्रेसभित्र थुप्रै अनुभवी युवा अनुहार भए पनि उनीहरूलाई पाखा लगाइ दिएको देखिन्छ । यही कमजोरीका कारण नेपाली कांग्रेसको भविष्य झन् संकटमा परेको छ । रामचन्द्र पौडेल, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, शेखर कोइराला, महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डाक्टर प्रकाशशरण महत, नवीन्द्रराज जोसीलगायत शीर्ष नेताहरूको पराजयले कांग्रेसभित्र भुइँचालो गएको छ । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ माओवादीभन्दा पनि कम सिट जित्ला भन्ने चाहिँ कसैले सोचेका थिएनन् । ठ्याक्कै उल्टो भयो । यो परिस्थितिको उपज हो । यो कसैलाई दोष दिएर हुने कुरा होइन ।
अब कांग्रेस सुध्रिएर अगाडि बढ्नुपर्छ । कांग्रेसको रुख ढलेको होइन, पात झरेका छन् । वसन्त ऋतुमा पातहरू फेरि पलाउँछन् । कुनै चिन्ता गर्नुपर्ने आवश्यकता छैन । विगतका कमी–कमजोरीहरूलाई केलाएर त्यसबाट पाठ सिकेर कांग्रेस अगाडि बढ्नुपर्छ । कांग्रेसले समानुपातिकतर्फ एमालेको हाराहारीमा सिट ल्याएको छ, जसले गर्दा कांग्रेसको जनमत त्यति खस्किएको मान्नु हँुदैन । कांग्रेसका नेता र उम्मेदवार खराब हुनाले कांग्रेसले हार व्यर्होनुपरेको तथ्य प्रमाणित भएको छ ।
प्रतिक्रिया