‘विश्व नम्बर ३० भएर खेल्न तयार छु’

ब्रिस्बेन । पूर्वविश्व नम्बर एक एन्डी मुर्रेले आफू विश्व वरियतामा ३०औँ स्थानमा पुगे पनि सहजै रूपमा खेल्न सक्ने बताएका छन् । लामो समयदेखि टेनिस कोर्टबाट बाहिर रहेका मुर्रे ब्रिस्बेन इन्टरनेसनलबाट खेलमा फर्कदै छन् । चोटका कारण उनी ६ महिना टेनिस कोर्ट बाहिर रहेका थिए । जसको कारण उनी विश्वको १६औँ वरीयतामा खस्किएका छन् । गत जुलाईमा ‘हिप इन्जुरी’ कारण उनले आफ्नो ¥याकेट केही समयका लागि थन्क्याएका थिए ।तर, उनी सन् २०१८ को पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको तयारीका लागि ब्रिस्बेन इन्टरनेसनलबाट पुनरागमन गर्दै छन् ।‘पछिल्लो समय हिप इन्जुरीका कारण बाहिर रहेँ । अहिले म एकदम ठीक छु’ मुर्रेले भने । उनले थपे ‘साथै अगामी खेलप्रति निकै उत्साहित छु । यद्यपि, पछिल्लो ६ महिना र अन्य धेरै कुरालाई मैले बिर्सिसके ।’ मुर्रेले ब्रिस्बेन यात्रा गुर्न पूर्व आबुधाबी खेलको एक सेटको मैत्रिपुर्ण खेल गुमाएका थिए ।

उनी स्पेनका रोबर्टो बाउटिस्टासँग स्तब्ध भएका थिए । मुर्रेले ब्रिस्बेन इन्टरनेसनलमा पनि पहिलो राउन्डमा बाई पाएका छन् । दोस्रो राउन्डमा उनले रायन ह्यारिसन र लियोनार्दो मेयरबीचको विजेतासँग खेल्नेछन् । यद्यपि, यो प्रतियोगिता उनको लागि वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको वार्म अप मात्र हो ।

जुन ग्रान्डस्लाम आगामी १५ जुनदेखि सुरु हुनेछ । पछिल्लोसमय धेरै मेन्स टेनिस स्टार चोटका कारण प्रतियोगिता गुमाइरहेका छन् । चोटकै कारण स्पेनिस स्टार रफाइल नाडलले ब्रिस्बेन गुमाउँदा नोभाक जोकोविचले पनि कतार ओपन गुमाउन बाध्य भए । जोकोविच गत विम्बल्डदेखि टेनिस कोर्ट बाहिर छन् ।


सेरेना उत्साहित
पूर्वविश्व नम्बर एक अमेरिकन टेनिस स्टार सेरेना विलियम्स पनि लामो समयपछि टेनिस कोर्टमा फर्किएकी छन् । आमा बनेको करिब चार महिनापछि सेरेना प्रदर्शनी खेलबाट कोर्टमा फर्केकी हुन् । युएईको अबुधाबीमा शनिबार भएको मुबाडाला विश्व टेनिस च्याम्पियनसिपको प्रदर्शनी खेलमा सातौँ वरीयताकी लात्भियाकी जेलेना ओस्टापेन्कोविरुद्ध मैदान उत्रँदै सेरेनाले टेनिस कोर्टमा पुनरागमन गरेकी हुन् । यद्यपि, उनको पुनरागमन शुखत बन्न सकेन ।

प्रदर्शन खेलमा सेरेना ६–२, ३–६ (१०–५) ले पराजित भइन् । करिब ११ महिनापछि टेनिसमा फर्किए पनि जेलेनाविरुद्ध सेरेनाले केही आफ्नो क्लासिक खेल प्रदर्शन गरेकी थिइन् । खेलपछि टेनिस कोर्टमा फर्कंदा सेरनाले आफू निकै उत्साहित रहेको बताइन् । उनले भनिन् ‘म मेरो प्रदर्शनको रेटिङ गर्न आएको छैन । चोट, सर्जरी र बच्चाको जन्मपछि जुन पुनरागमन भएको छ । यो सोचेको थिइन । यो मेरो लागि अद्भूत रहनेछ, अद्भुत खेल थियो ।’

गत वर्ष जनवरीमा अस्ट्रेलियन ओपनको उपाधि जितेपछि सेरेना पहिलोपटक कोर्टमा उत्रिएकी हुन् । सेरेनाले गत सेप्टम्बरमा छोरी एलेक्सिस ओलम्पिया ओहानियनलाई जन्म दिएकी थिइन् । सेरेनाले नोभेम्बरमा एलेक्सिस ओहानियनसँग विवाह गरेकी थिइन् । विश्व टेनिसमा कीर्तिमानी २३औँ ग्रान्डस्लाम जितेकी सेरेनाले सातपटक अस्ट्रेलियन ओपन जितिसकेकी छिन् ।

तर, यो सिजनको अस्ट्रेलियन ओपन खेल्ने नखेल्नेबारे प्रशिक्षक र टिमसँग सेरेनाले छलफल जारी राखेको बताइन् । अस्ट्रेलियन ओपनको उपाधि पुनः रक्षा गर्नुहुन्छ भन्ने प्रश्नमा सेरेनाले यो दिन आउने बताईन् । उनले भनिन्, ‘मलाई थाहा छैन कि म पूर्णतया तयार छु कि छैन । तर, जब म फर्केर आउँछु, म निश्चित रूपमा प्रतिस्पर्धा गर्न चाहन्छु ।’

प्रतिक्रिया