काठमाडौं । प्रणव खनाल र संरक्षकभूषण वज्राचार्य १५औँ जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यू–१८ ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको सेमिफाइनलमा प्रणवले संरक्षकका भाइ सम्यकलाई ६–२ र ६–२ तथा संरक्षकले निन्वाम राईलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यू–१८ गल्र्स सिंगल्समा मायांका राणा फाइनलमा पुगिन् । दोस्रो सेमिफाइनलमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई निर्णायक सेटमा ६–४ ले हराइन् । फाइनलमा मायांकाको भेट प्रेरणा कोइरालासँग हुनेछ ।
यू–१४ ब्वाइज सिंगल्समा आदित सुवेदीले आर्यन गिरीलाई १–६, ७–५ र ६–० तथा निशान श्रेष्ठले सरोज तामाङलाई ७–५ र ६–३ को सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे । यू–१८ गल्र्स डबल्समा मायांका र माहिकाको जुम्ल्याहा जोडीले प्रेरणा कोइराला र सुभांगीलक्ष्मी शाहको जोडीलाई ६–१ र ६–३ तथा विजिशा श्रेष्ठ र अभिलाषा विष्टको जोडीले इशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीलाई ६–१ र ६–१ को सिधा सेटमा पन्छ्याउँदै फाइनल यात्रा तय गरे ।
यू–१८ ब्वाइज डबल्समा दाई संरक्षक र भाइ सम्यकको जोडीले सरोज तामाङ र सफल श्रेष्ठको जोडीलाई ६–० र ६–१ तथा प्रणव खनाल र आदित सुवेदीको जोडीले कुवेहाङ चेम्जोङ र निश्चल अधिकारीको जोडीलाई ६–२ र ६–० ले हराउँदै फाइनलमा स्थान पक्का गरे ।
प्रतिक्रिया