देउवाको अर्थहीन चलखेल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको समाचार मिडयामा प्रकाशित भएका छन् । सोमबार बसेको माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘शेरबहादुरजीले मलाई तपाईं प्रधानमन्त्री हुनोस्, हामी समर्थन गर्छौं, पाँच वर्ष मज्जाले सरकार चलाउनोस् भन्नुभयो ।’ बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई नै साध्य मान्ने नेपाली कांग्रेसजस्तो पार्टीका सभापतिले यस्तो प्रस्ताव राखे होलान् भनेर विश्वास गरिहाल्ने अवस्था छैन । तर, माओवादीका अध्यक्ष प्रचण्डले नै बैठकमा यो जानकारी दिएको कुरा जिम्मेवार नेता अग्नि सापकोटालाई उद्धृत गर्दै मिडियामा समाचार आएका छन् । कांग्रेसका अन्य नेताहरूले पनि ‘यदि प्रचण्ड तयार हुन्छन् भने हामी उनलाई प्रधानमन्त्री बनाउन तयार छौँ,’ भन्ने अभिव्यक्ति सार्वजनिक रूपमै दिएका छन् । नेपाली कांग्रेस बहुदलीय लोकतान्त्रिक नीति र सिद्धान्त बोकेको संगठित पार्टी हो कि अराजकहरूको झुन्ड हो ? भन्ने प्रश्न यस्ता गतिविधिले सिर्जना गरेको छ ।
भर्खर सम्पन्न निर्वाचनले नेकपा एमालेलाई सत्ताको नेतृत्व गर्ने र नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डेट दिएको छ । माओवादी केन्द्रलाई एमालेसँग एकीकरण गर्न म्यान्डेट दिएको छ । मधेसी दललाई आफ्नो इच्छाअनुसार सत्तामा जान या प्रतिपक्षको भूमिका निर्वाह गर्न म्यान्डेट दिएको छ । जनताको यो म्यान्डेटलाई दलहरूले इमानदारीका साथ कार्यान्वयन गरे भने मात्रै लोकतान्त्रिक संविधान संस्थागत रूपमा कार्यान्वयनमा आउँछ । तालमेल गरी एउटै घोषणापत्र बनाएर एमाले र माओवादी केन्द्र चुनावी मैदानमा गएका थिए । साथै, चुनाव सम्पन्न भएलगत्तै एककीरण गर्ने प्रतिबद्धता पनि यी दुई पार्टीले जाहेर गरेका थिए । जनताले करिब दुईतिहाइ बहुमत पुग्ने हैसियतमा यी दुवै पार्टीलाई पु¥याएका छन् । अर्थात्, पार्टी एकीकरणको प्रस्तावलाई जनताले अनुमोदन गरिसकेका छन् । जनताको म्यान्डेटबमोजिम अब यी दुई पार्टीबीच एकीकरणको कोर्स सुरु भएको छ । निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम औपचारिक रूपमा राष्ट्रपतिसमक्ष बुझउन बाँकी छ । राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुअघि नै पार्टी एकीकरण गरिसक्ने प्रतिबद्धता दुवै पार्टीका तर्फबाट आइसकेको छ । नेपाली कांग्रेसले सके यो प्रयासमा सहयोग गर्नुपर्छ, नसके मौन बस्नुपर्छ । एमाले र माओवादीबीच एकता प्रक्रिया कांग्रेसको चाहनाले मात्रै भाँडिदैन, बरु थप मजबुत हुन्छ । तर, कांग्रेस यो एकता प्रक्रिया भाँड्न खोज्दै छ भन्ने सन्देश जनतामा गएको छ । त्रिशंकु संसद्का कारण विगतमा नौ÷नौ महिनामा सरकार बन्ने र विघटन हुने खेलले मुलुकलाई ठूलो नोक्सानी पु¥याइसकेको छ । जनता आजित छन् । एमाले र माओवादी मिल्न सकेनन् भने मुलुकको लोकतन्त्रमा फेरि पुरानै विकृति दोहोरिने निश्चितप्रायः छ । नेपाली कांग्रेस फेरि त्यो विकृति दोहो¥याउन उद्यत छ भन्ने सन्देशले आखिर लोकतन्त्रलाई नै नोक्सान पु¥याउ“छ ।
बलियो सरकार र सशक्त प्रतिपक्ष नै मुलुकको आवश्यकता हो । यो आवश्यकता पूर्ति हुने गरी जनताले अभिमत दिएका छन् । अब पाँच वर्ष स्थायी सरकार बनोस् भन्ने जनताको चाहनामाथि कहीँ–कतैबाट खेलबाड गर्नु हुन्न । पराजय भोगेको पीडामा यतिखेर कांग्रेसका नेताहरू छन् । पीडामा होसले भन्दा बेहोसीले काम गर्छ । कांग्रेस सभापति देउवाले प्रचण्डलाई गरेको आग्रह त्यही बेहोसीपनको उपज हो । यस्तो प्रस्तावलाई प्रचण्डले गम्भीर रूपमा लिनु हुन्न । देउवाले गरेको यो प्रस्तावलाई प्रचण्डले पार्टी एकीकरणका लागि बार्गेनिङ गर्ने तुरुपका रूपमा प्रस्तुत गर्नु हुन्न । नयाँ संसद्भित्रको अंकगणित हेर्दा प्रचण्डलाई सत्ताको साँचो प्राप्त भएको कुरा सत्य हो । तर, सत्ताको यो साँचो माओवादी पार्टीको आफ्नै ताकतले प्रचण्डलाई प्राप्त भएको होइन । चुनावी तालमेल नभएको भए सत्ताको साँचो माओवादीको हातमा होइन, मधेसी दलको हातमा पुग्ने गरी परिणाम आउने निश्चितजस्तो थियो । यो कुरा प्रचण्डले बुझेकै हुनुपर्छ । पार्टी एकीकरण प्रक्रिया जतिसक्दो छिटो टुंग्याउन प्रचण्डको विशेष सक्रियता र योगदान जरुरी छ ।

प्रतिक्रिया