आयोजक एक्सेलसियरको विजयी सुरुआत

काठमाडौं । छैटौँ दी एक्सेलसियर कप अन्तर विद्यालय खेलकुद प्रतियोगिताको जुनियर ब्वाइज बास्केटबलमा आयोजक दी एक्सेलसियरले विजयी सुरुआत गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा एक्सेलसियरले होलीभिजनलाई २६–९ को स्कोरमा हरायो ।

आयोजकको जितमा आयुष तामाङले सर्वाधिक १३ स्कोरको योगदान दिए । जुनियर ब्वाइजमै पिपुल्सले बिएनएलाई २५–१८ स्कोरमा हराउँदा अजय घले नायक बने ।

उनले २१ स्कोर गरे । स्वयम्भूस्थित दी एक्सेलसियर स्कुलमा भएको प्रतियोगिताको सिनियर गल्सतर्फ ग्यालेक्सीले रुपिजलाई २०–४ को स्कोरमा स्तब्ध बनायो ।

ग्यालेक्सीको जितमा बिनिता पन्तले सर्वाधिक ७ स्कोर गरिन् । गल्सकै अर्को खेलमा स्किब्सले काभ्यलाई २४–२० को स्कोरमा हरायो ।

स्किब्सको जितमा देभ्युना केसी र अप्सरा पौडेलले समान १० स्कोरको योगदान दिए । फाएभ ‘ए’ साइड जुनियर फुटबलमा न्यु जेनितले अक्षरालाई ५–२ गोल अन्तरले हराउँदा शिशु निकुञ्जले ओम ज्ञानमन्दिरलाई ३–० ले स्तब्ध बनायो । जुनियर ब्वाइजकै अन्य खेलमा राजन मेमोरियलले त्रिरत्नलाई ५–३ गोल अन्तरले हराउँदा राजश्रीले किट्स लर्निङमाथि ७–० को सहज जित निकाल्यो ।१३ पुससम्म सञ्चालन हुने प्रतियोगिताको अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, विद्यालय भलिबल कमिसनका उपाध्यक्ष युवराज श्रेष्ठ, आयोजक स्कुलका प्रबन्ध निर्देशक राम बस्नेतले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।  ‘शिक्षासँगै खेलकुद’ भन्ने मूल उद्देश्यका साथ सञ्चालन गरिएको प्रतियोगितामा फाएभ ‘ए’ साइड फुटबलमा जुनियरतर्फ १२ वर्षमुनि १३ टिम तथा सिनियरतर्फ १६ वर्षमुनि २० टिमको सहभागिता रहेको छ । बास्केटबलमा जुनियर ब्वाइजमा १६ तथा सिनियर ब्वाइजमा १२ टिमले प्रतिस्पर्धा गर्दा सिनियर गल्र्समा १२ टिम रहेका छन् ।

प्रतिक्रिया