रायना सेमिफाइनलमा

काठमाडौं । माहिका राणा १५औँ जयकर मेमोरियल राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यू–१८ गल्र्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । माहिकाले सेमिफाइनलमै दिदी मायांकालाई प्रतिद्वन्द्वीका रूपमा पाएकी छन् ।

मायांका बाइ पाएर सिधै सेमिफाइनलमा पुगिसकेकी छन् । अर्को सेमिफाइनल प्रेरणा कोइराला र विजिशा श्रेष्ठबीच हुनेछ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको क्वार्टर फाइनलमा माहिकाले एनी माथेमालाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्दै दिदी मायांकासँग सेमिफाइनलमा भेट पक्का गरेकी हुन् ।

यू–१४ गल्र्स सिंगल्समा रायना शाहले सुभाङलक्ष्मी शाहलाई ६–३ र ६–२, सर्भानी श्रेष्ठले प्रकृति श्रेष्ठलाई ७–६ र ६–४, इशाश्री शाहले स्नेहा यादवलाई ६–१ र ६–२ तथा अभिलाषा विष्टले अजा रेग्मीलाई ६–१ र ६–० को सीधा सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

सोही स्पर्धाको ब्वाइजमा निश्चल अधिकारी क्वार्टर फाइनलमा पुगे । उनले प्रसिद्ध मोक्तानमाथि ६–२ र ६–१ को सहज जित दर्ता गरे ।  यू–९ गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले प्रतिष्ठा लामालाई ४–० र ४–०, अद्या पौडेलले सइभी ढकाललाई ४–० र ४–०, जेनी खड्काले नाला मास्केलाई ४–१, २–४ र ४–१ तथा सुनिरा थापाले समृद्धि महर्जनलाई ४–० र ४–० को सेटमा पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरे ।

उक्त स्पर्धाको ब्वाइजमा निशाद जोशीले दर्शिल श्रेष्ठलाई ४–१ र ४–०, राजवीर प्रधानले बोरिस अधिकारीलाई ४–० र ४–१, आयुशमान घलेले तेन्जिङ गुरुङलाई ४–० र ४–० तथा सक्षमविक्रम शाहले असभ हाडालाई ४–० र ४–० को सोझो सेटमा पन्छ्याउँदै सेमिफाइनलमा स्थान बनाए । यू–१० ब्वाइज सिंगल्समा निशाद जोशीले दर्शिल श्रेष्ठलाई ६–० र ६–२ तथा श्रीयोग अधिकारीले आर्यमान जोशीलाई ६–० र ६–२ को नतिजामा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे ।

ब्वाइज डबल्समा सरोज तामाङ र सफल श्रेष्ठ तथा आदित सुवेदी र प्रणव खनालको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे । सरोज र आदित्यको जोडीले इभ्येक जोशी र आदित्य सुवेदीबाट वाक ओभर पाए । आदित र प्रणवको जोडीले आरभसम्राट हाडा र आर्यन गिरीको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा हराए ।

प्रतिक्रिया