काठमाडौँ, ४ पुस । बंगलादेशमा जारी साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा मंगलबार भएको खेलमा नेपाल भारतसँग १०-० को फराकिलो गोलअन्तरले पराजित भएपछि फाइनल खेल्ने नेपालको सम्भावना सकिएको हो ।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि यही पुस २ गते भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६-० ले गोल अन्तरले पराजित भएको थियो ।
नेपालले पहिलो र दोस्रो हाफमा समान पाँच/पाँच गोल बेहोर्यो । भारतका लागि सुनिता मुन्डा र प्रियंकादेवीले ह्याट्रिक गरे भने लेन्डा कोमले दुई तथा सन्थिया र अंनी बाइले समान एक–एक गोल गरे ।
त्यस्तै प्रतियोगितामा भारत र बंगलादेश एक खेल अगावै फाइनलमा प्रवेश गरेका छन् । मंगलबारै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३-० ले गोलअन्तरले हरायो ।
भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भएको थियो । भुटानले दुई खेलबाट ६ गोल खाएको छ भने यता समान खेलबाट नेपालले १६ गोल खाएको छ ।
प्रतियोगितामा भुटान पनि अघिल्लो चरण प्रवेशबाट बाहिरिएको छ । लिग राउण्डको अन्तिम खेल नेपालले अब यही पुस ६ गते भुटानसँग खेल्नेछ ।
प्रतिक्रिया