नेपाल एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट च्याम्पियन

काठमाडौं । बलिङ र ब्याटिङले पूरानै लय शैली पाएपछि नेपालले एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा उत्कृष्ट ब्याटिङ र बलिङ गरेको नेपालले सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि जितेको हो । नेपाल प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १ सय ८४ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ दशमलव ५ ओभरमा १ सय १२ रनमा समेटिएपछि नेपालले उपाधि हात पा¥यो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रनको योगफल तयार पारेको थियो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ६३ रन अर्धशतकीय पारी खेले । नारायण जोशीले अविजित ४६ रन बनाए ।  विशालले ४ चौका र १ छक्का प्रहार गर्दा नारायणले ५ चौका र १ छक्का प्रहार गरे ।

सुवास ऐर २२, तृतराज दास १९, सुनील भण्डारी १५, प्रतिश जिसी १० तथा राजन मगरले ३ रन जोडे । तर, नेपालको सुरुआत भने राम्रो हुन सकेको थिएन । नेपालको खातामा मात्र ३ रन हुँदा कुशल मल्ल शून्यमै आउट भए । नेपालले २१ रन जोड्दा महत्वपूर्ण २ विकेट गुमाएको थियो । नेपालको खातामा ४० रन हुँदा तेस्रो विकेट गुमाए पनि विशालविक्रम र नारायण जोशीले उत्कृष्ट प्रदर्शन गर्दै पारी उकासे ।

सिंगापुरका इसान सानवेले २ विकेट लिए । प्रनभ सुदर्शन, राउल शर्मा र प्रमेश सिंघर्वीले १–१ विकेट लिए । नेपालले दिएको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले ३१ दशमलव ५ ओभरमा १ सय १२ रनमै अलआउट भयो । सिंगापुरको ब्याटिङमा साइहर्ष भेनुगोपालले सर्वाधिक ३१ तथा अर्नव वाद्वाले २१ रन जोडे ।

राउल शर्माले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका सूर्य तामाङ र अजयकुमार लुनियाले ३–३ विकेट लिए । कुशल र नारायणले १–१ विकेट लिए । उपाधि उचालेको नेपालले प्रतियोगिताको कुनै पनि खेलमा हार बेहोर्नु परेन ।

नेपाल ५ खेलमै अपराजित रह्यो । फाइनलमा विशालविक्रम म्यान अफ दी म्याच चयन भए । प्लेयर अफ दी टुर्नामेन्ट सिंगापुरका इसान साउने भए । उनले प्रतियोगिताभर १ सय ३५ रन र ९ विकेट लिएका थिए ।

प्रधानमन्त्री देउवाद्वारा बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले उपाधि विजेता यू–१६ युवा टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुसी व्यक्त गर्दै विजेता खेलाडीलाई बधाई दिएको उनका निजी सचिव बद्रीप्रसाद तिवारीले बताएका छन् । प्रधानमन्त्री देउवाले पछिल्लोसमयमा नेपाली क्रिकेट खेलाडीले विविध चुनौतीबीच प्राप्त गरेको सफलता प्रशंसायोग्य भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया