ओलम्पियनलाई नगद पुरस्कार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने बताएका छन् । ओलम्पियनको सम्मानार्थ राखेपले आयोजना गरेको चन्द्रागिरि हिल्स भ्रमण कार्यक्रमलाई चन्द्रागिरिमा सम्बोधन गर्ने क्रममा सदस्य–सचिव विष्टले पहिलो ओलम्पियनलाई मासिक रूपमा नगद उपलब्ध गराउँदै आएकोमा बाँकी ओलम्पियनलाई पनि मासिक नगद पुरस्कार उपलब्ध गराउने बताएका हुन् ।
‘हामीले पहिलो ओलम्पियनलाई मासिक १० हजार उपलब्ध गराउँदै आएका छौँ । बाँकी ओलम्पियनलाई पनि सम्भवतः आगामी माघ÷फागुनदेखि आन्तरिक व्यवस्था गरी मासिक ३ हजार उपलब्ध गराउने तयारीमा छौँ । आउने आर्थिक वर्षदेखि मासिक ५ हजार दिने गरी व्यस्था मिलाउने छौँ । साथै दक्षिण एसियाली खेलकुदका रजत र कांस्य पदक विजेतालाई मासिक नगद पुरस्कारको व्यवस्था समेत गर्ने छौं ।’ उनले उपत्यका बाहिरका ओलम्पियनको सम्मान पनि उनीहरूकै क्षेत्रमा यस्तै कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

कार्यक्रममा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसीदेखि नयाँ पुस्ताकी ओलम्पियन जुडोकी फुपुल्हामु खत्रीलगायत गरी ३० ओलम्पियन उपस्थित थिए । ओलम्पियनलाई चन्द्रागिरी हिल्स भ्रमण कार्यक्रममा सहुलियत प्रदान गरेको चन्द्रागिरी हिल्सलाई राखेपले प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो ।

प्रतिक्रिया