आरजु राणालाई नेपालको प्रथम महिलाको उपमासहित विशेष सुरक्षा प्रदान गरिएको थियो । अगाडि–पछाडि सुरक्षाका गाडी अनि चारदेखि पाँच वटा हुक्के–ढुक्के कार्यकर्ताका गाडीले त नेपाली कांग्रेसका पुराना र स्थापित नेता कार्यकर्ताहरूका गुनासा र सुझाबसमेत आरजुले सुन्न र बुझ्न पाइनन् ।
वीरेन्द्र रावल
काठमाडौं, २७ मंसिर । साबिकको सुदूरपश्चिम भन्नेबित्तिकै शेरबहादुर देउवाको विशेष प्रभाव क्षेत्र हो भन्ने मान्यतामा लामो समयसम्म काडमाडौं रह्यो । यही साखका कारण नेपाली कांग्रेस देउवाको हातमा पुग्यो ।
‘शेरबहादुर भनेको नेपाली कांग्रेसको खम्बा हो । हालको ७ नम्बर प्रदेशमा अन्य दलहरूको अस्तित्व नै रहँदैन जबसम्म शेरबहादुर रहन्छन्’ भन्ने राजनीतिक अहं यसपटक कांग्रेसमा धेरै नै देखियो ।
यो अहंता बोकेका ७ नम्बरका कांग्रेसजन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले दिएको जनादेशले छाँगाबाट खसेझैँ बन्न पुगेका छन् ।
खासगरी ७ नम्बर प्रदेशमा कोइराला कांग्रेस र देउवा कांग्रेस गरी कांग्रेस दुई चिरामा विभक्त थियो विगतमा ।
हाल आएर देउवा गुटभित्र पनि स्वयं देउवाकै गृहजिल्लामा दुई गुट, उपगुट भइदिएपछि नेपाली कांग्रेस पार्टी ७ नम्बर प्रदेशमा पनि तीन चिरामा अदृश्य रूपले विभक्त भइसकेको यथार्थलाई डडेलधुरा पार्टी सभापति कर्ण मल्ल र पूर्वसभापति रघुवीर भट्टबीचको जुहारीबाट प्रमाणित भएको छ ।
यतिखेर प्रदेश निर्वाचनमा कर्ण मल्ल जो आरजुका कारण टिकट पाएका थिए, भने देउवा पक्षधरका रघुवीर भट्ट, जसलाई आरजुले देख्नै सक्दिनन्, उनी वाम गठबनधन अर्थात् एमालेका लोकप्रिय नेता पठान सिंह बोहराबाट पराजितसमेत बन्न पुगेका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा छैठौँपटक डडेलधुराबाट निर्वाचत बनेका छन् । आफू लडेको प्रतिनिधिसभाको सिट सुरक्षित गरे पनि देउवाले गृहजिल्लाकै प्रदेशमा एमालेका पठानसिंह बोहरालाई हराउन सकेनन् ।
यतिसम्म कि देउवाले डडेलधुरामा व्यापक रूपले द्रव्यदान गरेर माओवादीका केन्द्रीय सदस्यहरूदेखि आफ्नै गाविस गन्यापधुराको रुवाखोलाबाट माओवादीबाट निर्वाचित माओवादीका वडा अध्यक्षसहितको टोलीलाई नेपाली कांग्रेसमा प्रवेश गराएर साम, दाम, दण्ड, भेद नगरेको भए वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका युवा नेता खगराज भट्टले निर्वाचन जित्ने पक्का थियो ।
उनले देउवालाई पराजयको बाटोमा पुर्याउने लगभग पक्कापक्की देखिएको थियो । साम, दाम, दण्ड, भेदका अगाडि खगराज भट्ट अर्थात् वाम गठबनधनको सीप नलागेपछि देउवाले आफूलाई छैठौँपटक जिल्लाबाट विजेताका रूपमा स्थापित गर्न सके ।
तर, पनि स्थानीय तहमा र प्रदेशसभामा एमाले र वामहरूको उपस्थितिले अबको राजनीतिक आकाशमा डडेलधुरा कांग्रेसमा पनि कालो बादल मडारिन थालिसकेको आभाष कांग्रेसजनहरूले गर्न थालेका छन् ।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा देउवाले २८ हजार ४४ मत पाएका थिए भने खगराज भट्टले २१ हजार १ सय १५ मत ल्याएका थिए ।
अर्थात् खगराज भट्ट ६ हजार ९ नौ सय २९ मतले देउवाबाट पराजित बन्न पुगेका हुन् । ७ नम्बर प्रदेशको हकमा देउवाले ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा गरी छैठौँपटक संसदीय निर्वाचनमा विजय हासिल गरिसकेका छन् ।
देउवाले जिल्लामा आफूलाई सुरक्षित राखे पनि उनले नेतृत्व गरेको नेपाली कांग्रेस पार्टी भने ७ नम्बर प्रदेशमा बत्ती बालेर खोज्नुपर्ने अवस्थाको सिर्जना हुन थालेको विश्लेषण गरिन थालेको छ ।
जहिल्यै पनि देउवाले आफूकेन्द्रित र गुटकेन्द्रित राजनीति गरेका कारण ७ नम्बरमा चुनाव जित्न सक्ने स्थानहरूमा पनि पराजय भोग्नु परेको उनकै दलका स्थानीय नेता कार्यकर्ताहरूको भनाइ छ ।
उनले एकपटक कञ्चनपुर जिल्लालाई रोजे, एकपटक कैलाली जहाँ उनकी पत्नी डा. आरजु राणा पराजित भइन् । सो निर्वाचन क्षेत्रमा पनि देउवा ०७० सालमा निर्वाचन लडेका थिए ।
०७४ को प्रतिनिधिसभामा आफ्नै पत्नीलाई टिकट दिएका देउवाले पत्नीको पराजयबाट पनि निकै ठूलो मानसिक तावन खेपिरहेको हुनुपर्दछ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा खास गरी राना थारूको बाहुल्य छ, जहाँ आरजुलाई टुरिस्ट नेताको आरोप लाग्यो ।
स्थानीय माटोमा हुर्किएका राना थारूका छोरा सामान्य जनतासँग पनि मिल्न सक्ने नारदमुनि रानाको राजनीतिक कद आरजुभन्दा निकै माथि थियो । त्यसको आकलन नेपाली कांग्रेस र डा. आरजुलाई थिएन ।
एउटा राना बस्तीमा त उनले आफू रानाकै सन्तान भएको अफवाहसमेत फैलाइन् । कतिपय बस्तीमा त नारद रानालाई आफूले नचिनेको समेत बताउँदै आइन् ।
यस्ता अभिव्यक्ति नेपाली कांग्रेस पार्टीका सोझासाझा कार्यकर्ता र स्वयं राना थारूहरूलाई पचेन र उनीहरूले भित्री रूपमा निर्णय गरिसकेका थिए कि, जब आज वाम गठबन्धनका उम्मेदवारलाईसमेत आरजुले चिन्दिनन् भने सोझासाझा जनतालाई चिन्ने त कुरै भएन ।
त्यसकारण आरजुलाई भोट दिनु आफ्नो खुट्टामा बन्चरो हानेजस्तै हो भन्ने ठानेर नै जनताले नारदमुनि रानालाई मतदान गरे ।
गुटको घेराले बाहिर जान दिएनः डा. आरजु राणालाई नेपालको प्रथम महिलाको उपमासहित विशेष सुरक्षा प्रदान गरिएको थियो ।
अगाडि–पछाडि सुरक्षाका गाडी अनि चारदेखि पाँच वटा हुक्के, ढुक्के कार्यकर्ताका गाडीले त नेपाली कांग्रेसका पुराना र स्थापित नेता कार्यकर्ताहरूका गुनासा र सुझावसमेत आरजुले सुन्न र बुझ्न पाइनन् ।
नेता कार्यकर्ताहरूसमेतले आरजुलाई देख्न र भेट्न नपाएपछि अन्य सोझासाझा जनतामा आरजु र उनका गुटप्रति वितृष्णा जागेको थियो, जसको प्रतिविम्ब चुनावमा मतपरिणामले साबित गरिदियो ।
द्रव्यले पनि काम गरेन, उल्टै कार्यकर्ता समूहगत रुष्टः ग्रामीण क्षेत्रमा आरजुले महिलाहरूलाई सल, साडीलगायतका सामानहरू वितरण गरेको विषयले निकै व्यापकता पायो ।
समूहगत रूपमा विभिन्न क्लबका युवादेखि लिएर गाउँघरमा स्थापित व्यक्तिहरूलाई द्रव्यदान गरेपछि नपाउने स्वयं कांग्रेसीजनहरूमा निर्वाचनको दुई दिनपहिलेदेखि असन्तुष्टि पैदा गराइदिएको थियो, जसको सही व्यवस्थापन आरजुले गर्न सकिनन् ।
उल्टै युवाहरू बिरोधी बन्दै गए । ती युवाहरूको असन्तुष्टिको प्रतिविम्ब नै हो कम मत आउनु ।
एक जना नेपाली कांग्रेसका स्थानीय नेताले अचम्मित हुँदै भने, ‘ओहो, हजुर चार करोड चुनाव खर्च अनि तीन करोडको घर खरिदमा लागेको गरी चुनावकै लागि सात करोडले पनि चुनाव हारिन् आरजु भाउजुले ।’
उनी मात्र नभई ७ नम्बर प्रदेशमा कैलाली ५ र डडेलधुरालाई सुरक्षित मानिएको क्षेत्र गुम्दा कांग्रेसजनमा ठूलो पश्चात्ताप छ ।
पुराना नेता, कार्यकर्ताहरूको असहयोगः ०७१ को उप–निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका युवा नेता पुष्करनाथ ओझा, आनन्द भट्ट र कृष्णबहादुर महराले निर्वाचनमा असहयोग गरेको आरोप यतिवेला कैलाली कांग्रेसमा व्यापक चर्चाको विषय बनेको छ ।
एक गुटले अर्को गुटलाई धारे हानिरहेको अवस्था यतिखेर देखिन्छ । यदि आरजुले निर्वाचन जितिन् भने बाँकी १५ वर्षसम्म देउवाको अधिनायकवादले जरा गाड्छ ।
परिवारवादले आफूहरूको राजनीतिक जीवन समाप्त हुनेछ भन्ने भयले पनि केही सम्भावना बोकेका नेताहरूको भित्री असहयोग नै आरजुको पराजयको मुख्य कारण बनेको ठम्याइ छ ।
हिजोका दिनमा अखण्ड सुदूरपश्चिमको आन्दोलनमा पार्टीलाईसमेत दाउमा राखेर राजनीतिक आकाशमा चर्चामा रहेका भीम रावल र लेखराज भट्टलाई यस क्षेत्रमा देउवाको विकल्पका रूपमा जनताले हेरिसकेको अवस्था छ ।
पार्टीका उपाध्यक्ष उपप्रधानमनत्री भइसकेका भीम रावललाई देशकै नेतृत्व लिन सक्ने स्थानमा रहेका कारण पनि यस क्षेत्रमा विशेष महत्व र आशाले जनता हेरिरहेका छन् र थिए पनि ।
जनता देउवाको अभिव्यक्ति, पार्टी कार्यकर्तालाई गर्ने तुच्छ व्यवहार र अक्षमताको पराकाष्टाबाट आजित भइसकेका थिए । त्यसको विकल्पका रूपमा पनि जनताले व्यक्तित्व र आबद्ध दललाई आत्मसात गर्नु स्वाभाविक पनि थियो ।
किन बढारियो नेपाली कांग्रेस ७ नम्बर प्रदेशबाट ? भन्ने प्रश्नले यतिवेला बजार पाएको छ । प्रत्येक चिया पसल, टोल–टोलमा यही बहस छ ।
खासगरी सामाजिक मुद्दामा नेपाली कांग्रेसले देखाएको गलत सोच । कैलाली, कञ्चनपुरलाई खुटिया नदीबाट अलग गर्ने भन्ने देउवाको विगतको भनाइ ।
पश्चिम सेतीलगायतका महत्वका आयोजनाहरू निर्माण गर्न नसक्नुलगायतका कारण कांग्रेस ७ नम्बर प्रदेशमा ओरालो लागेको हो ।
वाम गठबन्धन र एमालेको बलियो संगठनः खासगरी ७ नम्बर प्रदेशमा स्थानीय तहमा पनि एमाले पार्टी एक सिटले भए पनि पहिलो पार्टी बन्न पुग्यो ।
एमालेको नेतृत्व अर्थात् पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिएको समृद्धि र राष्ट्रिय एकता र विकासको अडान अनि नीतिले ७ नम्बर प्रदेशमा व्यापकता पाएको थियो ।
अब एमालेले केही गर्न सक्छ भन्ने आशा पलाइरहेका वेला त्यसैमा वाम तालमेलले जनतालाई झनै खुसी तुल्याएको अवस्था विद्यमान थियो चुनावको अवधिमा ।
वाम तालमेलका एक-दुई स्थानबाहेक वाम गठबन्धनको इमानदारीको प्रतिफलस्वरूप कांग्रेस पार्टीले ७ नम्बरमा अपेक्षा गरेअनुरूप सिट जित्न सकेन ।
कैलालीमा बल्लतल्ल दुई वटा प्रदेशमा निर्वाचन जित्न सफल भएको छ नेपाली कांग्रेस, त्यो पनि झिनो मतान्तरले ।
प्रतिक्रिया