कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि

कालीकोट, २७ मंसिर । पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा माओवादी केन्द्रले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा एमालेले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा प्रजातान्त्रिक एक हजार ६४० मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताएका छन् ।

उनले प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रको चार हजार ७९७, एमाले चार हजार ६०० र नेपाली काँग्रेसलाई एक हजार ५६० मत प्राप्त भएको बताए ।

त्यसैगरी, प्रदेशसभा क्षेत्र (ख) मा माओवादी केन्द्रले छ हजार १८, एमाले पाँच हजार ४३९ र काँग्रेसले चार हजार ५७० मत प्राप्त गरेका छन् । कालीकोटमा समानुपातिकतर्फ ४२ हजार ७४० मत खसेको थियो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा (क) मा एमालेका कुर्मराज शाही र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका थिए ।

प्रतिक्रिया