श्यान्टु र नवितालाई च्याम्पियन

काठमाडौं । राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाई नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । नेपाल प्रहरीकाद्वय श्यान्टु र नविता क्रमशः पुरुष÷महिला सिंगल्समा च्याम्पियन बने ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा श्यान्टुले २ पटक च्याम्पियन प्रहरीका दीप साउनलाई ४–१ को सेटमा पराजित गरे । सानै उमेरदेखि नविताबाट टेबलटेनिस खेल्न सिकेका श्यान्टुले दीपलाई ७–११, १३–११, ११–३, ११–९ र ११–९ को सेटमा हराएका हुन् ।
गत वर्ष पूर्वाञ्चलको विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्स फाइनलमा तीनपटकका पूर्वराष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथेलाई हराउँदै ‘डेब्यु’ राष्ट्रिय प्रतियोगितामा श्यान्टु राष्ट्रिय च्याम्पियन बन्न सफल भए । त्यत्ति खेर श्यान्टु १६ वर्षका थिए ।

श्यान्टुले नेपाली टेबलटेनिसको इतिहासमा कम उमेरमा सिंगल्सको उपाधि जित्ने इतिहाससमेत रचेका थिए । उपाधि यात्रासम्म अपराजित रहेका श्यान्टुले फाइनल प्रवेशका लागि भएको क्वालिफायर राउन्डमा नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्यलाई ४–१ ले पाखा लगाएका थिए ।
श्यान्टु सुपर लिगमा पहिलो र पुरुषोत्तम दोस्रो भएका थिए ।

हारका बावजुद राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका २ पटकका ‘फाइनलिस्ट’ पुरुषोत्तमसँग फाइनल पुग्ने एक अवसर बाँकी नै थियो । त्यसमा पनि पुरुषोत्तम दीपसँग ४–१ ले चुके । राष्ट्रिय प्रतियोगिताको दुवै फाइनलमा पनि पुरुषोत्तम दीपसँगै पराजित भएका थिए । जितसँगै दीपले श्यान्टुसँग उपाधि भिडन्त पक्का गरेका थिए । सुपर लिगमा तेस्रो भएका दीपले चौथो भएका एपिएफका शिवलाई एलिमिनेटर राउन्डमा ४–१ ले पन्छाएका थिए । पुरुषोत्तमले तेस्रो स्थानमा चित्त बुझाए ।

महिला सिंगल्सको उपाधि भिडन्तमा नविता श्रेष्ठले एलिना महर्जनको चुनौती ११–९, ११–७, १०–१२, ११–९ र ११–८ को सेटमा समाप्त परिन् । प्रतियोगिताभर एक खेलमा पराजय भोगेकी नविताले पहिलो क्वालिफायर राउन्डमा सुपर लिगमा दोस्रो भएकी आर्मी क्लबकी स्वेच्छा नेम्वाङमाथि ४–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।  सुपर लिगमा अपराजित रहँदै पहिलो भएकी नविता समूह चरणको खेलमा आर्मी क्लबकी दीक्षा तामाङसँग पराजित भएकी थिइन् ।

सुपर लिगमा तेस्रो भएकी आर्मीकी दीक्षा तामाङ र चौथो भएकी एलिनाबीचको एलिमिनेटर राउन्डमा एलिना ४–१ ले विजयी भइन् । त्यो जितसँगै एलिनाले फाइनलमा स्थान बनाउन स्वेच्छासँग फेरि क्वालिफायर राउन्ड खेल्नु पर्ने थियो । त्यो प्रतिस्पर्धामा पनि एलिनाले ४–१ ले बाजी मारिन् । स्वेच्छा तेस्रो स्थानमा सीमित भइन् । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी जनही २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारको हक्दार बने ।

यू–१६ मा संयोज र दीक्षा च्याम्पियन
यू–१६ सिंगल्सको ब्वाइजमा एपिएफका संयोग कपाली र गल्र्समा आर्मीकी दीक्षा दाहाल पहिलो भए । ब्वाइज फाइनलमा संयोगले आफ्नै क्लबका एलेक्स महर्जनलाई १३–१५, १३–११, ११–६, ११–९, ६–११ र ११–८ ले पराजित गरे । याला स्पिनका डिकेन महर्जनले आर्मीका बोधित केसीलाई ४–३ ले हराउँदै तेस्रो बने । गल्र्स फाइनलमा दीक्षाले वज्र युनियनकी स्मृति पन्तमाथि ११–७, ११–८, ११–७ र ११–७ को जित रचिन् ।
तेस्रो स्थानका लागि भएको खेलमा एपिएफकी अन्जु सुवालले पिङपोङ सुपरस्टारकी मारिया थापामगरलाई ४–१ ले सहजै पन्छाइन् । ब्वाइज र गल्र्स दुवैमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताअन्तर्गत अब मिक्स टिम इभेन्टको खेल मात्र बाँकी छ । उक्त स्पर्धामा सहभागी ७ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष ४ स्थानमा रहने टिमलाई क्वालिफायर र एलिनेटर राउन्ड खेलाइ फाइनल खेलाइनेछ ।

प्रतिक्रिया