सुवासको स्थानमा अनील

काठमाडौं २३ मंसिर । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट क्लब चितवन टाइगर्सले घाइते भएका विकेट किपर एवं ब्याट्सम्यान सुवास खकुरेलको स्थानमा अनीलकुमार मण्डललाई समावेश गरेको छ । ओपनरसमेत रहेका सुवासको जिम्मेवारी अनीललाई दिइएको शुक्रबार चितवन टाइगर्सले प्रेस विज्ञप्तीमार्फत जनाएको हो । अक्सनबाट छनोट भएका सुवास हातमा फ्याक्चर भएका कारण इपिएलबाट बाहिरिएका हुन् ।

चिकित्सकको सल्लाह अनुरूप सुवासले नखेल्ने निर्णय लिएको चितवन टाइगर्सले जनाएको छ । साथै चितवनमा गरिएको ट्यालेन्ट हन्टबाट आकाश थापा र गौतम केसीलाई छनोट गरिएकोे छ । इपिएलको नियमअनुसार हरेक टोलीले एक खेलाडी स्थानीय राख्नुपर्ने र त्यसलाई ट्यालेन्ट हन्टबाट लिनुपर्ने प्रावधान रहेको थियो ।  तर, चितवन टाइगर्सले २ जना खेलाडीलाई अनुबन्धन गरेको छ ।

चितवन टाइगर्सले प्रतियोगिताको तयारीका लागि क्याम्प पनि सुरु गरिसकेको जनाएको छ । क्याम्पमा ९ खेलाडी बन्द शिविरमा रहेका छन् ।  अन्य खेलाडी ललित भण्डारी, दीपेन्द्रसिंह ऐरी र दीलिप नाथ राष्ट्रिय टिमबाट युएई भ्रमणमा रहेका छन् । चितवन टाइगर्सले छिट्टै विदेशी खेलाडीको पनि घोषणा गर्ने जनाएको छ ।

विदेशी खेलाडीमा आइपिएल र रणजी ट्रफी खेलिसकेका खेलाडीलाई चितवन टाइगर्सबाट खेलाउने लक्ष्य रहेको क्लबले जानकारी दियो । ‘आवश्यक कागजपत्रका लागि टिम प्रतिनिधि भारतमा गएको र प्रतिनिधिको आगमनपश्चात् विदेशी खेलाडीको घोषणा गर्नेछौँ ’ क्लबले स्पष्ट पारेको छ ।

प्रतिक्रिया