कस्मिरा र सदभावलाई उपाधि

काठमाडौं २३ मंसिर । कस्मिरा शाह र सद्भाव आचार्यले कतार एयरवेजको उपाधि जितेका छन् । शुक्रबार पार–७२ को गोकर्ण गल्फ क्लबमा भएको खेलमा कस्मिराले महिलातर्फ अर्सिया बानुमाथि ३ स्ट्रोक्सको जित निकालिन् । च्याम्पियन कस्मिराले ३१ अंक गर्दा उपविजेता अर्सिया बानुले २८ स्कोर गरिन् ।

प्रतिमा शेर्पाले २६ अंक बटुल्दा तेस्रो स्थानमै सीमित भइन् ।  जुनियर (१७ वर्ष र सोभन्दामुनि)तर्फ सद्भावले मयंक दाहालमाथि ८ स्ट्रोक्सको जित निकाल्दै उपाधि जिते । सद्भावले २१ अंक बटुले भने मयंकले १३ अंक बटुले । जुनियरतर्फ ९ होलमा मात्र खेल भएको थियो । महिलातर्फ ६ र जुनियरतर्फ ८ गल्फरको सहभागिता रहेको थियो ।

एकदिने प्रतियोगिता ३ बाइ ४ ह्यान्डिक्याप फरम्याटमा सञ्चालन भएको थियो । शनिबार मुख्य प्रतियोगितामा ७२ गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया