मुलुकमा विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पूरा भएर १२ वर्ष लागेको छ । यस अवधीमा देशमा थुप्रै परिवर्तन भए । सशस्त्र आन्दोलनमा रहेको माओवादीले संसदीय शासन व्यवस्थालाई स्वीकार गरेर पटकपटक सरकारको नेतृत्व गरिसक्यो । संविधानसभाका २ वटा निर्वाचनमार्फत् मुलुकले नयाँ संविधान पायो । २ सय ४० वर्षसम्म जरा गाडेर बसेको राजतन्त्र जरैदेखि उखेलेर फालियो । प्रजातन्त्र, लोकतन्त्र हुुँदै मुलक गणतन्त्रात्मक शासन पद्धतिमा पुगिसकेको छ । लामो बलिदान र संघर्षपछि बनेको संविधान कार्यान्वयनको चरण सुरु भइसकेको छ । स्थानीय तहको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन यसका प्रत्यक्ष उदाहरण हुन् । संविधानको कार्यान्वयनसँगै संघीय शासन प्रणालीको कार्यान्वयन सुरु भएको छ । यी सबै विस्तृत शान्ति सम्झौतापछि मुलुकले प्राप्त गरेका उपलब्धी हुन् । पछिल्लो समय विकास निर्माणका कामहरू पनि उल्लेखनीय भएका छन् ।
यी उपलब्धीसम्म आइपुग्नका लागि मुलुकले ठूलै मूल्य चुकाएको छ । १० वर्षे माओवादी द्वन्द्व कालमा देखिएका १७ हजार बढीले ज्यान गुमाएका छन् । अर्बौंको भौतिक सम्पत्ति र पूर्वाधार ध्वस्त भएका छन् । सयौँको संख्यामा सर्वसाधारण अंगभंग भएका छन् । परिवार गुमाएका छन् । निर्दोषहरू विनाकारण मारिएका छन् । राज्यपक्ष र विद्रोही दुवै पक्षबाट अत्यधिक ज्यादती भएको छ । थुप्रै गाउँहरू मानवशून्य भएका छन् । देश सयौँ वर्षपछि परेको छ । यति धेरै संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धी अहिलेसम्म दल र तिनका नेताले मात्र प्रयोग गरेको देखिएको छ । जसको कारण द्वन्द्वका पीडितहरू अहिले पनि पीडामा छन् । आफ्नो परिवारको सदस्य गुमाएको बेपत्ता पारिएको पीडा दलहरूले सोचेजस्तो सहज निराकरण हुने देखिँदैन । समस्या समाधानका लागि बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पनि दलहरूले अपांगजस्तै बनाएका छन् । द्वन्द्वको अन्त्य पीडाको निरुपण पनि हो । मुलकमा यति धेरै परिवर्तन भइरहँदा ती पीडितहरूले त्यसको प्रतिफल पाउन नसक्नु द्वन्द्वको अर्को वीजारोपण गर्नु हो । द्वन्द्वको पीडा छोटो समयमा निराकरण हुन सक्दैन । सरकार र राजनीतिक दलहरू यसमा बढी नै संयमित हुनु जरुरी देखिन्छ । समयमा सम्बोधन हुन नसक्दा पीडितमा विभिन्न खाले समस्याहरू थपिएको देखिएको छ ।
त्यसकारण पनि दलहरू यसतर्फ सचेत हुनै पर्छ । अब यो समस्यालाई धेरै लम्ब्याउनु हु“दैन । राजनीतिक परिवर्तन र आर्थिक परिवर्तनलाई स“गै अघि बढाउन सकेका देशहरूमा द्वन्द्वको निराकरण छिटो भएको देखिएको छ । त्यस्ता पीडितलाई सामान्य अवस्थामा ल्याउनु आन्दोलनको अर्को उपलब्धी हुनेछ । जबसम्म दलहरूले पीडितमा द्वन्द्वको घाउ मेटाउन सक्दैनन् त्यसबेलासम्म आन्दालनका उपलब्धी सर्वसाधारणमा पुग्न सक्दैन । यसतर्फ बेलैमा सचेत हुनु जरुरी छ ।
प्रतिक्रिया