मन्दिरको भेटी व्यवस्थित होस्

सरकारले दैनिक ३ सयभन्दा बढी तीर्थालु सहभागी हुने मठ मन्दिर, गुम्बा तथा मस्जिद व्यवस्थापनका लागि केही वर्षदेखि छुट्टै ऐन तर्जुमा गरेको छ । यस्ता धार्मिक केन्द्रहरूमा व्यवस्थापन समिति गठन गर्ने व्यवस्था ऐनमा छ । तीर्थालुद्वारा चढाइने भेटीलाई त्यही धार्मिक केन्द्रको सम्वर्धनका लागि सदुपयोग गर्ने जिम्मेवारी व्यवस्थापन समिति दिइएको छ । यो कानुनी व्यवस्थापछि मुलुकका धेरैजसो मठमन्दिरहरू व्यवस्थित रूपमा चल्न थालेका छन् । सरकारले ऐनको तर्जुमा गर्नुभन्दा पहिलेदेखि नै कतिपय मठमन्दिरहरूमा स्थानीय बासिन्दाले छुट्टै दान बाकस राख्ने परम्पराको थालनी गरेका थिए । मन्दिरको मूर्तिमा चढाइएको भेटी सिधै पुजारीको हातमा जाने भएकोले छुट्टै दान बाकस राख्ने र निश्चित समयपछि भद्रभलाद्मीको रोहोबरमा दान बाकस खोलेर जम्मा भएको रकमको अभिलेख राख्ने प्रचलन सुरु भएको थियो । यसरी संकलित रकमबाट धेरै सामाजिक काम हुन थालेपछि सरकारले पनि मठ मन्दिरको भेटी व्यवस्थापनका लागि छुट्टै ऐनको तर्जुमा गरेको हो ।

मठमन्दिर लगायतका धार्मिक केन्द्रमा चढाइने भेटीले धेरै ठूला सामाजिक काम हुने गरेका उदाहरणहरू भारतमा प्रसस्त भए पनि नेपालका सन्दर्भमा भने सुरुआत मात्रै भएको देखिन्छ । अझै पनि मन्दिरको भेटीमा आफ्नो अग्राधिकार भएको दाबी गर्न पुजारीहरूले नछाडेका कारण कतियय ठाउँमा विवाद हुने गरेको छ । यस्तै विवादका कारण दान बाकस खोल्न ढिलाई हुँदा महोत्तरीको जलेश्वर मन्दिरमा ठूलो नोक्सानी भएको छ । करिब डेढ वर्षको अन्तरालमा केही दिनअघि उक्त मन्दिरको दान बाकस खोल्दा करिव डेढ लाख रुपैयाँ बरबरका नोटहरू कुहिसकेको अवस्थामा भेटिएको समाचार आएको छ । जलेश्वर त उदाहरण मात्रै हो, यस्ता नोक्सानी मुलुकका धेरै मठमन्दिरमा हुने गरेका छन् ।

समयको परिवर्तनसँगै मठमन्दिरको सञ्चालन संवर्धनमा पनि समस्या तथा अवसरहरू सिर्जना हुँदै गएका छन् । पहिलेपहिले मानिसहरूमा धार्मिक आस्था बढी थियो । भगवान्का नाममा चढाइएको भेटीमा आँखा लगाउँदा पाप लाग्छ भन्ने मान्यता थियो । तर, अहिले यो मान्यता हराएको छ । भेटी मात्रै होइन भगवान्को मूर्तिसमेत चोरी हुने गरेका घटना हिजोआज आश्चर्यजनक हुन छाडे । पहिले मन्दिरको पूजाआजा तथा सञ्चालन संवर्धनका लागि गुठी जग्गाको व्यवस्था थियो । तर, अहिले गुठी जग्गा हिनामिना भइसकेको छ भने गुठी जग्गामा खेती गर्ने मान्छे पाइन छाडेकोले आम्दानी पनि हुन छाडेको छ । हिजो धातुको सिक्काको प्रचलन भएकोले मन्दिरमा चढाइएको भेटी घामपानीबाट नष्ट हुने अवस्था थिएन तर हिजो आज कागजी नोटको प्रचलनका कारण मन्दिरमा चढाइएको भेटी घामपानीबाट नष्ट हुन थालेको छ । तर, जनसंख्याको वृद्धिसँगै तीर्थालुहरूको पनि वृद्धि भएको छ । मानिसहरूको आर्थिक हैसियतसमेत बढेका कारण मठमन्दिरको भेटीमा पनि वृद्धि हुन थालेको छ । नेपालीहरूमा आन्तरिक पर्यटन गर्न निस्कने प्रचलन पनि बढेको छ । यातायात तथा सञ्चारको सुविधाका कारण मुलुकका कतिपय मठमन्दिरहरूमा तीर्थालु तथा भक्तजनहरूको घुइँचो बढ्न थालेको छ ।

उदाहरणका लागि गोरखाको मनकामना मन्दिरमा पुग्ने केबुलकारको निर्माणलगत्तै त्यहाँ तीर्थालुहरूको संख्या अकल्पनीय रूपमा वृद्धि भइरहेको छ । पूर्वको पशुपतिनाथ भने चिनिने हलेसीमा सडक यातायात नपुग्दासम्म चाडपर्वमा मात्रै तीर्थालुहरूको भिड लाग्थ्यो तर सडक यातायात पुग्ने बित्तिकै हरेक दिन तीर्थालुहरूको घुइँचो बढीरहेको छ । दोलखाको कालिञ्चोक होस् या ताप्लेजुङको पाथिभरा होस् अथवा हिमालपारीको मुक्तिनाथ मन्दिर होस् यातायातको पहुँचसँगै तीर्थयात्रुहरूको घुइँचो लाग्न थालेको छ । मुलुकका मठमन्दिरमा तीर्थालुको घुइँचो लाग्ने क्रम दिनदिनै वृद्धि भइरहेको छ । यसबाट आन्तरिक पर्यटनको संभावना त बढेको छ नै सँगसँगै मन्दिरमा चढाइने भेटी पनि वृद्धि भइरहेको छ । यस्तो रकमको सदुपयोग गरियो भने धेरै सामाजिक काम गर्न सकिन्छ भन्ने उदाहरण यतिबेला पोखराको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिले पेस गरिसकेको छ । व्यवस्थापन समिति गठन भएको एक÷दुई वर्षमै मन्दिरको भेटी रकमबाट विन्ध्यवासिनी आसपासमा थुप्रै सामाजिक काम भइरहेका छन् ।

प्रतिक्रिया