वाम एकता ऐतिहासिक घटना

दुई ठूला कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र एकीकरण प्रक्रियाले मुलुकको राजनीतिक वृत्तमा निकै ठूलो तरंग उत्पन्न भएको छ । नेकपा एमाले २०७० सालको संविधान सभा निर्वाचनमा मुलुकको दोस्रो ठूलो र हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो ठूलो पार्टी हो । माओवादी केन्द्र २०६४ सालको संविधानसभा निर्वाचनमा मुलुककै पहिलो ठूलो र त्यस यताका दुई वटा निर्वाचनमा तेस्रो ठूलो पार्टी हो । कम्युनिष्ट पार्टीहरुमध्येका मात्रै होइनन् मुलुककै ठूला र प्रभावशाली पार्टी भएका कारण एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल र एकीकरण प्रक्रियाले राजनीतिक वृत्तमा ठूलो तरंग उत्पन्न गरेको हो । एमाले र माओवादीबीचको चुनावी तालमेल र एकीकरण प्रक्रिया मुलुकको राजनीतिक इतिहासकै महत्वपूर्ण घटना हो । यो प्रक्रियाले मुलुकको राजनीतिक दिशा बदलिने निश्चित छ तर कुन हदसम्म कसरी बदलिन्छ ? भन्ने प्रश्नको उत्तर अहिले नै भन्न सकिने अवस्था छैन । नेपाल कम्युनिष्ट पार्टीको करिव ७० वर्षको इतिहासमा फुट्ने र जुट्ने क्रम दर्जनौ पटक दोहोरिएकोले यो एकीकरणले मूर्त रुप लिन सक्छ वा सक्दैन ? मूर्तरुप लिए पनि जनचहाना पुरा हुन सक्छ वा सक्दैन ? भन्ने प्रश्नहरुको उत्तर कुर्न केही महिना पर्खनै पर्ने हुन्छ ।
२०४८ साल यता मुलुकमा भएका चुनावलाई हेर्ने हो भने सबै भन्दा धेरै जनमत कम्युनिष्ट पार्टीहरुको पक्षमा देखिन्छ । ४० देखि ६० प्रतिशत मत कम्युनिष्ट पार्टीका पक्षमा देखिए पनि त्यो मतको सदुपयोग हुन सकिरहेको छैन । कम्युनिष्ट पार्टीहरु धेरै भएका कारण जनमत बाँडिने र थोरै जनमत भए पनि नेपाली कांग्रेसले सत्ता प्राप्त गरिरहने यर्थाथता मुलुक सामु छ । विचार तथा सिद्धान्त एउटै , झण्डा एउटै हुँदा हुँदै पनि नेताहरुको स्वार्थका कारण एउटै कम्युनिष्ट पार्टी बन्न सकिरहेको छैन । एमाले र माओवादीको यो ध्रुविकरणले मुलुकमा एउटा मात्रै कम्युनिष्ट पार्टी रहने र त्यो पार्टी मुलुककै सर्वशक्तिवान बन्ने अवस्था देखिएको छ । यो ध्रुविकरण नेताहरुको पक्षमा भन्दा पनि कम्युनिष्ट सिद्धान्तप्रति आस्था राख्ने तमाम जनताको पक्षमा छ । संगठन नै शक्ति हो । कम्युनिष्ट सिद्धान्तको पक्षमा यति ठूलो जनमत हुँदा हुँदै पनि शासन सत्तामा पूँजिवादी शक्ति हावी भइरहनुमा मख्य दोषि नेताहरु नै हुन् । ढिलै भएपनि नेताहरुले गल्ती महशुस गर्नु मुलुकका लागि शुभ संकेत हो ।
एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल तथा पार्टी एकीकरण प्रक्रियाले दिएको सबै भन्दा सुखद सन्देश भनेको बलियो स्थायी सरकारको संभावना हो । दुवै पक्षबाट धोकाधढी तथा घात अन्तर्घात भएन भने यो गठवन्धनले प्रतिनिधि सभामा र प्रदेश २ लाई छाडेर बाँकी ६ वटै प्रदेश सभामा सके दुई तिहाई नभए पनि सुविधा जनक बहुमत हाँसिल गर्ने निश्चित जस्तै छ । सुविधा जनक बुहमत आएको अवस्थामा एउटै सरकारले ५ वर्षसम्म निरन्तर काम गर्न पाउने संभावना रहन्छ । २००७ सालमा प्रजातन्त्र स्थापना भए सँगै मुलुक अस्थीर सरकारको चक्रव्युहमा फँसिरहेको छ । ३ वर्ष भन्दा बढी एउटै सरकारले काम गर्न पाएको उदाहरण छैन । वर्षदिन नपुग्दै प्रधानमन्त्री परिवर्तन भइरहने दुश्चक्रबाट मुक्ति नै मुलुकको मुख्य आवश्यकता हो । तर संविधानमा ४० प्रतिशत प्रतिनिधित्व समानुपातिक निर्वाचन प्रणालीबाट हुने प्रावधान राखेर बहुमतको सरकार बन्ने संभावनालाई अत्यान्तै न्युन बनाइएको छ । जुन रोगबाट मुलुकले मुक्ति पाउनु पर्ने थियो त्यो रोगलाई अझै बलियो बनाउने गरी संविधान निर्माण हुनु दुखद पक्ष हो । तर यो दुखद पक्षको अन्त्य हुने संभावनालाई एमाले–माओवादी गठवन्धनले नजिक ल्याएको छ । जसरी कम्युनिष्ट कित्ताका पार्टीहरुबीच ध्रुविकरण भएको छ त्यसरी नै लोकतान्त्रिक कित्ताका पार्टीहरुबीच पनि ध्रविकरणको संभावना बढेको छ । एमालेको सक्रियतामा भएको कम्युनिष्ट कित्ताका पार्टीहरुको ध्रुविकरण सँगै नेपाली कांग्रेसले पनि लोकतान्त्रिक कित्ताका पार्टीहरुबीच ध्रुविकरण गराउने प्रयास थालेको छ । यस्तो अवस्थामा मुलुकमा दुई वटा पार्टी मात्रै रहन्छन् । जसले स्थायी सरकारको संभावनालाई बढाँउछ । तर ध्रुविकरणका नाममा राजनीतिक प्रणालीकै बिकल्प खोज्न थालियो भने मुलुक थप दुश्चक्रमा फस्न सक्छ । अब केही वर्ष वर्तमान संसदीय संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत नै मुलुकलाई संवृद्धि तर्फ लैजान प्रयात्न गर्ने साझा संकल्प दुवैथरी गठवन्धनबाट आउनु जरुरी छ । शासन व्यवस्थाको विकल्प खोज्नेतिर बामगठवन्धनलाई लैजान माओवादी कित्ताबाट प्रयास हुनसक्ने अवस्थाप्रति एमाले चनाखो हुनु जरुरी छ ।

प्रतिक्रिया