निर्वाचन सकरात्मक कदम

स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो र दोस्रो चरणमा ६ वटा प्रदेशको निर्वाचन यसअघि नै भइसकेको छ । आज प्रदेश नम्बर २ मा तेस्रो चरणको निर्वाचन हुुँदै छ । उक्त प्रदेशका सबै तहमा उम्मेदवारहरूले नामावली दर्तादेखि मतदाता परिचयपत्र वितरणका साथै सबै तयारी तालिका बमोजिम नै भइसकेको छ । विभिन्न आरोह अवरोहहरू पार गर्दै र बार्गेनिङ चाङहरूको बीचमा निर्वाचनको महासंग्राममा प्रदेश नम्बर २ होमिएको छ । यो निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने सबैको सदीक्षा छ । राजनीति राज्यको शासनसत्ता सञ्चालनको लागि हो । राजनीति शक्तिले नै देशको भविष्यको निर्माण गर्छ । निर्वाचन लोकतन्त्रको सुुन्दर र महत्वपूर्ण पक्ष हो । जसले राजनीतिको ऐनाको रूपमा काम गर्छ । हाम्रो देशमा अहिले राजनीति र निर्वाचनलाई हेर्दा दलका नेताहरूको गरीखाने भा“डोको रूपमा मात्र विकास भएको देखिन्छ । लोकतान्त्रिक परिपाटीबाट जनमत लिएर जानुपर्नेमा द्रव्य र सम्पत्ति तथा पद र प्रतिष्ठाको लेनदेनमा राजनीति डुबेको छ । नेपालमा यो वा त्यो सिद्धान्तका आधारमा राजनीतिक दलहरू अगाडि बढ्न छाडिसकेका छन् । राजनीतिक दलको स्थापनाकालको जस्तो निष्ठा अहिले समाप्त भएको देखिएको छ ।
आज निर्वाचनलाई अस्त्र बनाएर राष्ट्रको ढुकुटीमा खेल्ने, राजनीतिकै भरमा नांगो नाच देखाउने काम पनि भइरहेको छ । लामो समयसम्म संक्रमणकाल जारी रहेकोले पनि राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिककरण मौलाएको हो । अबका दिनमा यो निर्मूल भएर जान जरुरी छ । निर्वाचनले राजनीतिमा देखिएका तमाम खालका विकृतिलाई समाप्त गर्न सकेन भने देश फेरी संक्रमणकालीन अस्थामै रहनेछ । भनिन्छ, ‘राजनीति भनेको सबै नीतिको मूलनीति हो ।’ तर, आमनेपाली जनताले तुच्छ रूपमा बुभ्mने राजनीति भयो भने देशको आर्थिक, सामाजिक विकास पनि पछाडि धकेलिँदै जाने निश्चित छ । अन्तर्राष्ट्रिय जगतबाट पनि नेपालको राजनीतिमाथि हस्तक्षेप बढेर जाने देखिन्छ ।
सक्षम नेतृत्वको नाममा अर्को दलको भित्र्याउने, पैसा भएकालाई छानेर टिकट दिने प्रवृत्ति अहिले पनि कायमै रहेको छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि चल्ने बार्गेनिङले जनताको चाहना बुझ्दैन र अहिले पनि बुझेको छैन । टिकटमा हुने लेनदेन र मतदातामा छरिने द्रव्य राजनीति जित्नका लागि सहयोगी होला तर जनताको मन जित्न सक्दैन । विकासका लागि त्यो घातक र राजनीतिभित्र अभिशाप हुन सक्छ । सिद्धान्तको राजनीतिलाई संस्थागत गर्ने हो भने तेस्रो चरणको स्थानीय तहको निर्वाचन लगत्तै आउन लागेको प्रदेश र संघीय निर्वाचनमा यस्ता विषयले प्रवेश पाउनु हुँदैन । राजनीतिलाई फोहोरी खेल बनाउने प्रयास भयो भने दलको अस्तित्व संकटमा पर्ने देखिन्छ । जे होस् राजपाको लामो बार्गेनिङपछि जुटेको सहमतिका आधारमा आज अर्थात सोमबार हुन लागेको तेस्रो चरणको निर्वाचनमा कुनै अवरोध हुनु हुँदैन । मतदाताहरू मतदानका लागि आतुर देखिएका छन् । यो निर्वाचन ठूला दलको प्रतिष्ठा र सानादलको अस्तित्वको एक हिस्सा पनि हो । यसैले निर्वाचन शान्तिपूर्ण ढंगले सफल हुन जरुरी छ । जित हारको सौदाबाजी त निर्वाचनपछि हुने मतगणनाको परिणामले देखाउनेछ ।

प्रतिक्रिया