ढल व्यवस्थापनका लागि निःशुल्क जग्गा

सोलुखुम्बु, १४ भदौ । ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष आङ दामी शेर्पाले सदरमुकामको ढल व्यवस्थापनका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् ।

सल्लेरी बजारको तिनकुनेदेखि राष्ट्रिय वाणिज्य बैंकसम्मको बजारमा ढल व्यवस्थापन गर्नका लागि शेर्पाले करिब रु पाँच लाख मूल्य बराबरको जग्गा सल्लेरी फोहोर व्यवस्थापन समितिको नाममा रजिष्ट्रेसन पास गरेका छन् ।

सो क्षेत्रमा घर भएका धेरैको सेफ्टी ट्यांकी बनाउने जग्गा नभएको र शौचालयको फोहोर बजारभन्दा तलतिरको खोल्सामा फाल्ने गरेका कारण ढल व्यवस्थापन गर्न बजार छेउको जग्गा निःशुल्क उपलब्ध गराएको शेर्पाले बताए ।

यसअघि सोलु दूधकुण्ड नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यमा सोही क्षेत्रको ढल व्यवस्थापन मुख्य चुनौती बन्दै आएको थियो ।

जग्गा उपलब्ध भएपछि बजारको मुख्य क्षेत्रको ढल व्यवस्थापन समस्या तत्कालका लागि हट्ने देखिएको छ ।

प्रतिक्रिया