वैदेशिक रोजगारीमा पीडित बढी, उजुरी कम

baidesik-rojgari_janganana_201212010916141सिन्धुपाल्चोक । पछिल्लो १ वर्षमा जिल्लाबाट ९ सय ६५ जना महिला वैदेशिक रोजगारीमा गएको एक तथ्यांकले देखाएको छ । यो तथ्यांक भारतवाहेकको र नेपालको विमानस्थल हुँदै जाने सिन्धुपाल्चोकका कामदार महिलाको हो । ८ हजार ३ सय ३८ जनाले १ वर्षको अवधीमा राहदानी बनाएकोमा ६ हजार ६ सय ३८ जनालाई सुरक्षित आप्रवासन परियोजनाले परामर्श दिएको र ५ हजार २ सय ३० जना वैदेशिक रोजगारीमा गएको परियोजनाले जनाएको छ ।

सो अवधिमा ३ वटा मृत्युका घटना भएको, कागजात नचाएकोमा २, बेपत्ता २, सम्झौताभन्दा अर्कै कम्पनीमा पठाएको १२ र ठगीको ९ वटा गरी २८ घटना जिल्लामा दर्ता भएका छन् ।  ‘समस्यामा परेको भनेर उजुरी गर्न आउँछन् तर उनीहरूसँग कुनै प्रमाण नै सुरक्षित हँुदैन,’ जिल्लाका प्रतिनिधि घटनाहरूलाई इंगित गर्दै जिल्ला न्यायाधीवक्ता अभिकेशर पोखरेल भन्छन्, ‘कतिपयको त प्रमाण नै पुग्दैन त कतिपयको आफन्तले नै पठाइदिएको हुने रहेछ, पैसा पाएपछि पीडित नै सम्पर्कमा आँउदैनन् ।’

‘१५ वर्षीय किशोरीलाई कान्छी पत्नी बनाएर कुबेतमा बेचिएको तथ्य मैलै पाएको छु तर पीडित महिला भने क्षतिपूर्तिको मात्र दावी गर्छिन् ।’ न्यायाधिवक्ता पोखरेलले चेतनास्तरमै परिवर्तनको जरुरत रहेको औँल्याएका छन् ।  जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउनुपूर्व सुरक्षित आप्रवासन परियोजना र शक्ति समूहले परामर्श सेवा दिने गरेका छन् ।

परामर्शमा नेपाल सरकारबाट श्रमका लागि स्वीकृति पाएका देश, स्वदेशकै विमानस्थल प्रयोग गर्ने, सरकारले इजाजत प्रदान गरेको म्यानपावर लगायतका सबै पूर्णजानकारी गराइने परियोजनाले प्रष्ट पारेको छ । वैदेशिक रोजगारीमा गई समस्यामा पर्ने प्रायः उच्च महत्वकांक्षामा प्रभावित हुनेहरू भएको परियोजना समन्वय समिति संयोजक तथा एलडिओ कृष्णबहादुर शाही बताउँछन् । ‘विदेशमा समस्या भोग्नेहरू नेपाल फर्केपछि भन्न चाँहदैनन् ।’ शाहीको अनुभवमा परामर्श दाताको भन्दा दलालको नै विश्वास बढी गर्ने गरेका छन् ।

यस जिल्लामा सय घरमध्ये ५६ घरबाट वैदेशिक रोजगारीमा गएको परियोजनाको तथ्यांक छ । जसमा एकतिहाई महिला रहेका छन् । तर, वैदेशिक रोजगारीको सिलसिलामा बढी महिला नै पीडित हुने गरेको परियोजना जिल्ला संयोजक रीना श्रेष्ठले बताइन् । वैदेशिक रोजगारीबाट फर्केकाहरूको अनुभव आदानप्रदान कार्यक्रम गरी सचेतना कार्यक्रमको सुरुआत गर्न लागेको उनले जानकारी दिए ।

प्रतिक्रिया