पुष्पसदन र सिसिआरसी सेमिफाइनलमा

puspa sadan n ccrc semi maकाठमाडौं १३ भदौ । पुष्पसदन र सिसिआरसी कलेज पाँचौँ जेभियर कप यू–१९ अन्तर कलेज बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छन् । सोमबार भएको यू–१९ पुरुषतर्फको पहिलो प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा पुष्पसदनले गोल्डेनगेट कलेजलाई ५७–५१ पछि पार्दै अन्तिम ४मा स्थान बनाएको छ । पहिलो क्वाटर १०–१४ ले गुमाएको पुष्पसदनले दोस्रो क्वाटरमा १६–११ ले आफ्नो पक्षमा पारेको थियो ।

गोल्डेनगेटले तेस्रो क्वाटर १५–११ ले आफ्नो नियन्त्रणमा राख्दै ३ क्वाटरको समाप्तिमा ३ अंकको अग्रता बनायो ।  पुष्पसदनले उत्कृष्ट प्रदर्शन गर्दै चौथो तथा निर्णायक क्वाटरमा २०–१२ को अग्रता लिएपछि समग्रमा ६ अंकले गोल्डेनलाई पछि पार्दै सेमिफाइनलको यात्रा तय ग¥यो । अन्तिम क्वाटरमा गोल्डेन गेटका सौगात सिंह र तेन्जिङले ५ फाउल खेलेपछि कोर्टबाट बाहिरिनुपरेको थियो ।

गोल्डेनगेटका ज्याक्सन सुनुवारले सर्वाधिक २८ स्कोर गरे पनि जितका लागि पर्याप्त भएन । विजयी टिम पुष्पसदनका सुरज खड्गीले महत्वपूर्ण १६ स्कोर गरे । जेभियर इन्टरनेसनल कलेज कालोपुलको आयोजनामा भएको यू–१९ पुरुषकै अर्को क्वाटरफाइनल खेलमा सिसिआरसीले आयोजक जेभियर ‘बी’लाई ६०–२९ को फराकिलो अन्तरले हरायो ।

सिसिआरसीको जितमा प्रसन्न मास्के र मनीष केसीले समान १५–१५ स्कोर गरे । पुरुष यू–१९ अन्तर्गत सेमिफाइनलमा पुष्पसदनले प्राइमको चुनौती सामना गर्नेछ । सिसिआरसीले भने मंगलबार हुने आयोजक ‘ए’ र एञ्जल्सहार्टबीचको क्वाटरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । १५ भदौसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५ र पुरुषमा १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा छात्रातर्फ आयोजक जेभियर कलेज, गोल्डेनगेट, सिसिआरसी, प्राइम र साइपालले राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । छात्रतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा सञ्चालन हुने छात्र विधामा समूह ‘ए’मा आयोजक जेभियर ए, लिटिल एञ्जल्र्स, गोल्डेन गेट र नोबल एकेडेमी रहेका छन् । समूह ‘बी’मा ट्रिनिटी, सिसिआरसी र बर्न हार्ट छन् । एन्जल्स् हार्ट, ज्ञान निकेतन, रिलायन्स एकेडेमी र पुष्पसदन समूह ‘सी’मा रहेका छन् । समूह ‘डी’मा आयोजक जेभियर बी, प्राइम कलेज र ग्रिनफिल्ड रहेका छन् ।

प्रतिक्रिया