काठमाडौं महानगरमा आउँदो १ वैशाखदेखि सडकमा चल्ने निजी वा भाडाका सवारीसाधनका चालकले अनावश्यक रूपमा हर्न बजाउन निषेध गर्ने समाचार प्रकाशमा आएको छ । समाचारको गहिराइमाथि दृष्टिगत गर्ने हो भने महानगर भन्नाले सौम्य र सुसंस्कृति मानिसको बसोबासको थलो हो । पहिले ग्रामीण, त्यसपछि नगर र नगरपछि महानगर बन्दै जाने यसका चरण हुन् । काठमाडौं पनि सफाइ अड्डा हुँदै महानगरपालिकामा परिणत भएको हो । राजनीतिक परिवर्तनसँगै काठमाडौंले पनि अनेक नाम धारण गर्नुपरेको यसको इतिहास छ । मुलुकमा अहिले चारवटा महानगरपालिका रहेको अवस्था छ । त्यसमध्ये पनि काठमाडौं मुलुक कै राजधानी भएकाले यस महानगरको भिन्नै विशेषता छ । काठमाडौं मुलुकको मात्र राजधानी नभएर यो अन्तर्राष्ट्रिय केन्द्र पनि हो । अन्तर्राष्ट्रिय केन्द्र भएका कारणले पनि यहाँको रहनसहन शैली, सरसफाइ, बाटाघाटा, स्वास्थ्य, बिजुली, ढल, सञ्चार प्रणाली, खानेपानी, सुरक्षा, यातायात प्रणालीलगायत अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने हो । तर व्यवहारमा हेर्दा काठमाडौं महानगर अन्तर्राष्ट्रिय स्तरको महानगर नभई केवल वस्ती विस्तारित भएकाले क्षेत्रफलको हिसाबले मात्र राजनीतिक तुष्टिका लागि महानगर घोषणा गरिएको भान भएको छ । किनभने काठमाडौं महानगरपालिका घोषणा भई कार्यान्वयनमा आएर पनि यसका अंगहरू जत्ति क्रियाशील हुनुपर्ने हो त्यो व्यवहारमा पटक्कै देखिएको छैन । काठमाडौंका बढी व्यापारिक चहलपहल हुने ठाउँमा सवारीसाधनको व्यवस्थापन र सरसफाइको जुन कहालीलाग्दो अवस्था छ, त्यो यहाँ स्मरण गरिरहन नपर्ला । आफ्नो सानोतिनो प्रयासले गर्दा समाधान हुने काम पनि हामीले उपेक्षा गरिरहेका छौं । यसभन्दा अघि पनि काठमाडौंको सौन्दर्य बढाउन अनेकन् प्रयास भए तर ती सबै क्षण भङ्गुर मात्रै रह्यो । हाम्रा महानगरका नीति निर्माताहरूको दोष यही देखिएको छ कि विगतका कमीकमजोरीको आत्म मूल्यांकन नगर्ने प्रख्यातिका लागि नयाँ प्रचारमुखी कार्यक्रम लागू गरिहाल्ने प्रवृत्तिको दबदबाबाट वशीभूत हुने । यही सिलसिलामा ध्वनि प्रदूषण नियन्त्रण गर्ने कार्यक्रम बाहिर आएको हुनुपर्दछ । महानगरलाई ध्वनि प्रदूषणबाट मुक्त गराउने प्रयास आफैंमा एउटा रचनात्मक र सिर्जनात्मक काम हुँदाहँुदै पनि यो भन्न कर लाग्दछ कि यो योजना आफैंमा कत्तिको सबल र दूरगामी छ । यसका व्यावहारिक र कार्यान्वयन पक्षका चुनौती के के हुन सक्तछ राम्ररी अध्ययन हुनु जरुरी छ । ध्वनि प्रदूषण निषेध गर्नुअघि सवारी धनी वा सवारीचालकहरू अभिमुखीकरण तालिम दिएर सचेतना गराइएको भए योजना प्रभावी हुने थियो र यो महानगर मैत्री पनि हुने थियो । आखिरमा महानगरवासीको स्वास्थ्यस्थितिलाई ध्यानमा राखेर नै उक्त ध्वनि प्रदूषण नियन्त्रण कार्यक्रम ल्याइएको हुनुपर्दछ । सिधै पुलिस, प्रशासन लगाएर गरिने कामको प्रतिफल र विश्वासमा लिएर गरिने कामको प्रतिफल वा परिणाम अतुलनीय हुन्छ । पुलिस, प्रशासन लगाएर निषेध वा नियन्त्रण गर्ने भन्ने कार्य छाडापनलाई ठेगान लगाउने मात्र हो । सुरु मै नकारात्मक सोचाइ राख्नैपर्छ भन्ने जरुरी छैन । सकारात्मक सोचले पनि असीमित र अनियन्त्रित कार्यहरू आशातीत सफल भएका अनेकौं उदाहरण ज्युँकात्युँ छ । यस सन्दर्भमा महानगरका समस्या के हुन् र त्यसको समाधानका सरल उपाय के के हुन् समष्टिमा विचारमनन गरेर कार्यान्वयनको दिशातिर जाँदा श्रेयष्कर हुने हाम्रो सुझाव छ ।
प्रतिक्रिया