के ब्याग मुवाँथाई : भाटभटिनी बक्सिङका सबिना र मन्दीप सेमिमा

muwathaiकाठमाडौं, १४ असोज । भाटभटेनी किक बक्सिङ कोटेश्वरका सबिना श्रेष्ठ र मन्दीप रानामगर प्रथम के ब्याग मुवाँथाई प्रतियोगिताको शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको महिला ५०–५५ केजी तौल समूहमा सबिनाले केन्द्रकी प्रियंका कामताडलाई र मन्दीपले प्रोफेसनल ७० केजीमा नेपाल आर्मीका वीरमान तामाङलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको प्रशिक्षक उमेश गुरुङले बताए । नेपाल राष्ट्रिय मुवाँथाई संघ र के ब्याग स्पोर्टस् प्रालिको संयुक्त आयोजनामा भएको पुरुष ७० केजीको प्रोफेसनलतर्फ पोखराका रुपक नेपालीले क्युकोसिनका सानु खड्कालाई, आर्मीका चित्र सिंह ठकुरीले सातदोबाटोका मानसिंह तामाङलाई र सिन क्योकुसिनका सन्तोष तामाङले केन्द्रका सन्जु मानन्धरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सोही तौलकै महिलामा केन्द्रकी करुणा उप्रेतीले पोखराकी अम्बिका भुजेललाई, केन्द्रकी शर्मिला राईले पोखराकी सोनिया तामाङलाई र सिन क्युकोसिनकी विनिता राईले आफ्नै डोजोकी मन्दिरा कार्कीलाई हराउँदै अन्तिम ४ मा स्थान बनाइन् । पुरुष ६० केजी तौल समूहमा पोखराका विजय सिंखडा, चाल्नाखेलका सनिष लामा, जाउलाखेलका सागर दर्जू र केन्द्रका करण बज्रचार्य सेमीफाइनलमा स्थान बनाए । पुरुषमा ५० केजी मुनि तौलमा नदीप राई, सौगात पारी, अमित ठकुरी, सन्दीप कार्की, रितिक मगैया, सुरज तामाङ, मदनकुमार श्रेष्ठ र मीनजंग मगर अन्तिम ४ मा पुग्न सफल भएको आयोजक नेपाल राष्ट्रिय मुआ थाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी गराए ।

प्रतियोगितामा पुरुषतर्फ ४ र महिलामा १ गरी जम्मा ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी गराए । प्रोफेसनलमा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ५० हजार, २० हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउनेछन् । बाँकी स्पर्धाका विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र तेस्रो हुनेलाई २ हजार ५ सय नगदबाट पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया