भीमदत्तनगर, ११ असोज । सुदूरपश्चिममा विगत २ महिनादेखि सिटामोल अभाव छ । यहाँका ९ वटै स्वास्थ्य संस्थामा सिटामोललगायत निःशुल्क वितरण गर्नुपर्ने औषधि अभाव भएको हो । आपूर्ति ठेक्कामा ढिलाइ हुँदा औषधि अभाव भएकाले धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयलाई सिटामोल खरिद गर्न निर्देशन दिएको छ । ३ लाख रूपैयाँसम्मको सिटामोल खरिद गर्न जिल्लालाई जानकारी गराइसकेको सुदूरपश्चिम क्षेत्रीय स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए । २ महिनादेखि सिटामोल अभाव भए पनि चरम समस्या भने नभएको उनले बताएका छन् । उनले भने, ‘आपूर्ति गर्ने कम्पनी कारबाहीमा परेकाले अभाव भएको हो ।’
‘नेपाल औषधि लिमिडेटले सिटामोल उत्पादन सुरु गरिसकेको भनिएको छ ।’ उनले भने, ‘दसैँअगावै वितरण हुने कुरो सुनिएको छ ।’ जिल्लामा औषधि खरिदका लागि ठेक्का प्रक्रिया ढिलो गरी थालिएकाले पनि निःशुल्क रूपमा वितरण गरिने औषधि अभाव भएको हो । क्षेत्रीय स्टोर प्रमुख श्रेष्ठका अनुसार सुदूरपश्चिममा वार्षिक करिब २ करोड चक्की सिटामोल खपत हुन्छ ।
स्वास्थ्य चौकीबाट ३८, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था छ । सुदूरपश्चिममा कञ्चनपुर र बैतडीमा सिटामोलको बढी अभाव रहेको उनले बताए । त्यसका साथै जिल्लामा सामान्य ज्वरो, पेटदुखाइ र वर्षामा हुने पानीजन्य रोगका औषधि अभाव छ । त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयका सूचनाअधिकृत हेमराज जोशीले सिटामोल केहीदिनअघि मात्रै स्थानीय बजारबाट खरिद गरी स्वास्थ्यचौकी तथा स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए ।
उनले भने, ‘बजारबाट ३ लाख रूपैयाँको सिटामोल खरिद गरेका छौँ ।’ उनले अन्य औषधि खरिदका लागि केहीदिन भित्रै टेन्डर हुने बताए । गतवर्ष पनि कञ्चनपुरका ठेक्का प्रक्रिय ढिलो हुँदा जिल्लामा औषधि अभाव भएको थियो । ‘सबै औषधि अभाव छ भन्ने होइन ।’ जोशीले भने, ‘एकाध किसिमको औषधि अभाव भएको हो ।’
कञ्चनपुरमा वार्षिक ५५ लाख रूपैयाँको औषधि खरिदका लागि टेन्डर हुन्छ । अबको डेढ महिनाभित्र यहाँ औषधि अभाव नहुने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया