लमजुङ, ११ असोज । स्थानीय तह पुनर्संरचनाको विरोध गर्दै आन्दोलन सुरु भएको छ । पुनर्संरचना प्राविधिक समितिले आयोगमा पठाएको प्रस्तावमा असन्तुष्टि जनाउँदै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । राइनास नगरपालिकाका नागरिकले आइतबार सदरमुकाम बेँसीसहरमा प्रदर्शनसमेत गरेका छन् ।
नगरपालिकालाई गाउँपालिकामा घटुवा गरिएको भन्दै उनीहरूले सदरमुकाममा विरोध ¥याली निकालेका थिए । नगरपालिकालाई गाउँपालिका बनाएर विकासको गति रोक्ने षडयन्त्र भएको उनीहरूको आरोप छ । जिल्लाबाट पठाइएको तीनवटै प्रस्तावमध्ये राइनासलाई एउटामा पनि नगरपालिका नराखिएकाले आन्दोलन गर्नु परेको स्थानीयवासीले बताए । राइनास सेवा समाजको सक्रियतामा आन्दोलन सुरु भएको हो ।
आन्दोलित स्थानीयवासीले जिल्लास्थित कांग्रेस, एमाले, माओवादी केन्द्रमासमेत ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले आफूहरूको मागलाई बेवास्ता गरेमा आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । यता पूर्वीभेगका विचौर, इलिमपोखरी र दूधपोखरीका वासिन्दाले पनि गाउँपालिकाको केन्द्र एक दिनको बाटो टाढा गरेको भन्दै असन्तुष्टी जनाएका छन् । यसैगरी जिल्लाको उत्तरी भागमा पर्ने प्रस्तावित मस्र्याङ्दी गाउँपालिकाका स्थानीयवासी पनि आन्दोलनको तयारीमा छन् । उक्त गाउँपालिकामा साबिकको घनपोखरा टुक्राएको र केन्द्र खुदी नपारिएको भन्दै विरोध गरेका छन् ।
प्राविधिक समितिको प्रस्ताव सार्वजनिक भएलगत्तै संगठित भई उनीहरूले राज्य पुनः संरचना आयोग र स्थानीय विकास मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएका छन् । आफ्नो मागको सुनुवाइ नभए विरोधस्वरुप अनशन बस्ने, जिल्लाका पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्ता चेतावनी दिएका छन् । त्यस्तै पश्चिम लमजुङका बासिन्दाले पनि प्राविधिक समितिको प्रस्तावलाई स्वीकार गरेका छैनन् । भोजे, पसगाउँ र गिलुङका बासिन्दाले अपायक स्थानमा केन्द्र निर्धारण गरेको भन्दै पुनः विचार गर्न माग गरेका छन् । माग पूरा नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गरी विरोध गर्ने चेतावनी दिएका छन् ।
त्यसैगरी साविकको चिती गाविसलाई पनि टुक्राएको भन्दै त्यहाँका बासिन्दा आन्दोलित भएका छन् । चितीको अधिकांश भाग बेँसीसहर नगरपालिकामा गाभिएको छ भने २ गाउँलाई नौथरमा गाभिएको छ । उनीहरूले पूरै गाविस बेसीसहरमा मिलाउनुपर्ने वा चितीमा केन्द्र कायम गरी नौथरमा मिलाउनुपर्ने माग गरेका छन् । उनीहरूले प्रस्तावको विरोध गर्दै आन्दोलन गर्ने र सदरमुकाम बेसीसहरमा नाकाबन्दी गर्ने पनि चेतावनी दिएका छन् ।
प्रतिक्रिया