पुल बगाएपछि सर्वसाधारणलाई सास्ती

म्याग्दी, ६ असोज । बाढीले सडक, बेलिब्रिज र झोलुंगेपुल बगाएपछि म्याग्दीको बेगखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । बेगखोलामा १६ गते भदौ राती आएको बाढीले सडक, पदमार्ग र पुल बगाएपछि म्याग्दीको उत्तरी भेगका १० गाविसका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक समस्यामा परेका हुन् ।

बेगखोलामा आउने बाढीले छिनछिनमा धार परिवर्तन गरिरहेकाले सडक खुलाउने प्रयास सफल भएको छैन । पुल र सडक नहुँदा बाढीको पानीमा जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने बाध्यता रहेको दानाका कबिन तुलाचनले बताए । उनका अनुसार केही ट्याक्टर चालकले यात्रुलाई खोला तारेबापत प्रतिव्यक्ति १ सय रूपैयाँ रकम लिने गरेका छन् । बेगखोला तिप्ल्याङ खण्डको वैकल्पिक बाटो तिप्ल्याङ, बादुक, औल, बेगखोला पैदलयात्रा गर्न कम्तीमा ३ घन्टा घुमाउरो बाटो हिँड्नुपर्छ । बेगखोलाको बाढी र सडक कटान भएकाले बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री अलपत्र पर्नुका साथै मुस्ताङ र उत्तरी म्याग्दीमा उत्पादित आलु निकासी हुन सकेको छैन ।

आलु र स्याउ कुहिन थालेपछि कृषक चिन्तित भएका छन् । कागबेनीमा सोह्र श्राद्ध गर्न जाने भक्तजन र मुस्ताङ भ्रमणमा आएका पर्यटक समस्यामा परेका छन् । कतिपय पर्यटक बेनीबाटै फर्किएका छन् । सडक अवरुद्ध हुँदा कृषि, पर्यटन र जनजीवन प्रभावित भएको छ । बाढीले विद्युत्का खम्बासमेत बगाएकाले उत्तरी म्याग्दी र मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति ठप्प भएको छ । विद्युत् अभावमा टावर नचल्दा मोबाइलको सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

मौसममा सुधार र बाढी रोकिएपछि सडक खुलाउने प्रयासले सार्थकता पाउने प्रजिअ केशवराज आचार्यले बताए । सडक विभागको १ वटा डोजरले काम गरिरहेको भए पनि सफल भएको छैन । विद्युत् आपूर्तिका लागि पहल गरिए पनि बाढी नरोकिएकाले समस्या भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सीताराम शाहले बताए ।

बाढी र पहिरोका कारण बेग गाविसको विभिन्न वडामा ३७ घरपरिवार विस्थापित हुनुका साथै ११ घर जोखिममा परेका छन् । बेगखोला, बाँसबोट र लिस्नेबाट विस्थापित अस्थायी टहरा, सामुदायिक भवन, विद्यालय र आफन्तकामा आश्रय लिएर बसिरहेका छन् । विस्थापितले पुनर्वासको व्यवस्था गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया