पोखरामा माल अड्डा पुनर्निर्माण हुने

पोखरा, ६ असोज । पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा रहेको करिब २ सय वर्ष पुरानो पुरातात्विक भवन ‘माल अड्डा’ पुनर्निर्माण गरिने भएको छ । पोखराको पहिलो सरकारी भवनका रूपमा परिचित पोखरा उपमहानगरपालिका–२ स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको उक्त भवन ०७० साल कात्तिकमा आगलागी भई ध्वस्त बनेपछि पुरातत्व विभागले भवन पुनर्निर्माण प्रक्रिया अघि बढाएको हो ।

पोखराको ऐतिहासिक महत्व रहेको माल अड्डाका नामले परिचित उक्त भवन जीर्ण बनेपछि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको सक्रियतामा जीर्णोद्वारको पहल भइरहेको अवस्थामा अकस्मात् आगलागी भएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगलागी हुनुपूर्व नै भवन जीर्णोद्वारको प्रक्रिया अघिबढी अर्थ मन्त्रालयबाट लगभग ६० लाख रूपैयाँ निकासी हुने अवस्थामा थियो । आगलागीपछि यस भवनलाई पूरातत्व विभागबाट नै पूर्ववत् स्वरूपमा निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

राणाकालीन समयमा यस माल अड्डाबाट तहसिल कार्यालयका रूपमा स्याङ्जा, लमजुङ, तनहँु र आसपासका क्षेत्रमा रकम निकासा हुने गरेको थियो । तहसिल कार्यालयले गर्दै आएको काम पछिल्लो समयमा मालपोत कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुँदै आएको थियो । इँटा र सुर्कीले बनेको तथा टायलले छाएको उक्त भवनमा आगलागी पूर्व पोखरेली युवा सांस्कृतिक परिवारको कार्यालय तथा संगीत प्रशिक्षण केन्द्र सञ्चालन गरिँदै आइएको र मन्दिरको सुरक्षार्थ सुरक्षाकर्मी पनि बस्ने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार भवन परिसरमा रहेको लगभग २ सय ५० वर्ष पुरानो नारेश्वरको बोट समेतलाई संरक्षण गर्दै त्यसको अगाडि फराकिलो आँगन बनाउने सोच राखिएको छ ।

२८ इन्चको पर्खालसहित पक्की भवनका रूपमा रहेको अड्डामा पहिलाको धनसम्पत्ति राख्ने अँध्यारो कोठा रहेको स्मरण गर्दै सचिव तीर्थ श्रेष्ठले आफूहरूले बाल्यकालमा धनसम्पत्ति राख्ने सन्दुस पनि देखेको बताए । ‘धन सम्पत्तिकी देवी माता लक्ष्मीकै नामबाट माताको मा र लक्ष्मीको ल मिलाएर माल अड्डाको नामाकरण भएको हुनसक्छ,’ उनले भने । पुरातात्विक सम्पदालाई पुरानै स्वरूपमा निर्माण गर्ने नीतिअनुरूप पुरातत्व विभागले काम अघि बढाएको विभागअन्तर्गतको पोखरा क्षेत्रीय संग्रहालयका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

प्रतिक्रिया