काठमाडौं, ६ असोज । नेतृत्वको विषयलाई लिएर ठमेल पर्यटन विकास परिषद्मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । परिषद्को साधारणसभा स्थगन र अर्को समूहले नयाँ नेतृत्व घोषणा गरेपछि विवादित बनेको परिषद्मा दुई दिनदेखि तालाबन्दी भएको हो ।
परिषदमा केही दिनअघिदेखि विवाद उत्पन्न भएको थियो । पदाधिकारीले एकअर्कालाई आरोप लगाउँदै संस्थालाई नै बदनाम हुने गरी भइरहेको गतिविधिप्रति व्यवसायी आक्रोशित देखिएका छन् । पर्यटकीय मौसम सुरु हुन लाग्दा ठमेलको समग्र पर्यटन प्रवद्र्धन विकासका लागि गठित संस्थामा विवाद देखिनुले पर्यटकमा नकारात्मक सन्देश जाने भन्दै व्यवसायीले चाँडो समस्या समाधान गर्न दवाव दिएका छन् । तर, परिषद्का जिम्मेवार पदाधिकारी आ–आफ्नो पक्षमा पद हत्याउन लागि परेका छन् । वर्तमान अध्यक्ष रामशरण थपलिया र परिषद्का उपाध्यक्ष समीर गुरुङ समूहबीचको विवादले परिषद्को भविष्य अन्योल बनेको हो ।
दुई दिनअघि परिषद्का वर्तमान अध्यक्ष थपलिया समूहले घोषित मितिको अघिल्लो दिन साधारणसभा स्थगित गरेपछि परिषद्कै वरिष्ठ उपाध्यक्ष समीर गुरुङको नेतृत्वमा साधारणसभा सम्पन्न भएको थियो । सभाले अध्यक्ष थपलियालाई हटाएर कार्यवाहक अध्यक्षको जिम्मेवारी गुरुङलाई दिएको घोषणा गरेको थियो । गुरुङले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएसँगै परिषद् छिर्ने घोषणा गरेपछि अध्यक्ष थपलियाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।
कार्यवाहक अध्यक्ष गुरुङ समूह मंगलबार परिषद् कार्यालय पस्न खोज्दा प्रहरीले रोकेको थियो । अहिले पनि परिषद् कार्यालयमा प्रहरीले सुरक्षा दिइरहेको छ । दुई समूहबीच कसरी अघि बढ्ने भन्नेबार छलफल भइरहेको छ । सकेसम्म विवाद मिलाएर समझदारीमै अघि बढ्ने दुबै पक्षले बताए पनि त्यसो हुन सकेको छैन् ।
प्रतिक्रिया