लामालाई मन्थ्ली गल्फको उपाधि

golf Winners copyकाठमाडौं, ८ जेठ । फिन्सो वङ्दी लामाले सूर्य नेपाल गोकर्णअन्तर्गत मन्थ्ली गल्फको उपाधि हात पारे । गोकर्ण गल्फ क्लबमा शनिबार भएको खेलमा लामाले ४ अन्डर ६८ स्कोर कार्ड बनाउँदै उपाधि जिते । १० ह्यान्डिक्यापका लामाले आफ्नो निकटतम प्रतिस्पर्धी शोनम नोर्बु लामामाथि १ स्ट्रोकको जित हात पारे ।

त्यस्तै १२ ह्यान्डिक्यापका शोनमले ३ अन्डर ६९ स्कोर कार्ड बनाउँदै उपविजेतामा चित्त बुझाएका थिए । क्याउन्ट ब्याकको आधारमा बाबु शेर्पालाई पछि पार्दै महेशबहादुर कार्की तेस्रो भए । कार्की र शेर्पाले समान १ ओभर ७३ को स्कोर कार्ड बनाए । ब्याक नाइनमा कार्कीले ३६ नेटस्कोर बनाउँदा शेर्पाले २ ओभर ३८ नेट स्कोर बनाएपछि कार्कीले तेस्रो स्थान हात पारेका थिए ।

बेस्ट ग्रसको उपाधि विजयी इनहासले जिते । उनले ४ ओभर ७६ को स्कोरकार्ड बनाएका थिए । ५ अन्डर ६७ नेट स्कोर जोडेका श्रीयोग बस्न्यातले जुनियरतर्फको उपाधि जिते । स्ट्रोक प्ले फरम्याट फुल ह्यान्डिक्यापमा भएको खेलमा कुल ३२ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता खेलाडीलाई गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कृत गरे । यस प्रतियोगिता आगामी डिसेम्बरसम्म कुल १० राउन्डमा खेल हुनेछ ।

प्रतियोगितामा नेटस्कोरतर्फ १० र जुनियरमा उत्कृष्ट ५ खेलाडीलाई प्रत्येक मन्थ्ली राउन्डको नम्बर प्रदान गरिनेछ । सोही अनुरूप १० राउन्डको समाप्तीपछि नेटविधातर्फ ४०, ग्रस र जुनियरमा समान उत्कृष्ट १० गल्फर क्लब च्याम्पियनसिपका लागि छनोट हुनेछन् । क्लब च्याम्पियनसिपको फाइनल राउन्ड आगामी २०१७ को जनवरी र फेब्रुअरीमा गरी २ चरणमा हुनेछ ।

प्रतिक्रिया