आनन्द र शान्ता पहिलो

bishesh 21th khelkudकाठमाडौं ३१ वैशाख । लेबोरेटरी उमावि, कीर्तिपुरका आनन्द पाण्डे र नमुना मच्छिन्द्र मावि, लगनखेलकी शान्ता महतले २१औँ विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार स्वर्ण हात पारेका छन् । पूर्ण दृष्टिविहीनको सटपुट छात्रमा आनन्द र छात्रामा शान्ता पहिलो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगिताको आंशिक दृष्टिविहीनको छात्र सटपुटमा नमुना मच्छिन्द्रका दीपक सिटौला, पूर्ण दृष्टिविहीनको लङजम्प छात्रमा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका रविन जिमी र छात्रामा पञ्चोदय उमाविकी सविता चौधरी तथा आंशिक दृष्टिविहीनको लङजम्प छात्रमा अमरसिंह उमावि, पोखराका सूर्य गुरुङ र छात्रामा सोही उमाविकी सरिता घिमिरे पहिलो स्थानमा रहे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको बहिरातर्फ २ सय मिटर दौडको छात्रमा बहिरा बाल उमावि, भैरहवाका दयानारायण चौधरी र छात्रामा बहिरा बाल उमावि, वागलुङकी तीलदेवी गर्बुजा तथा १ सय मिटर व्हीलचेयरको छात्रामा खगेन्द्र नवजीवन विशेष शिक्षा मावि जोरपाटीकी रजनी राई र छात्रमा खगेन्द्र नवजीवन माविधकै रमेश खत्री पहिलो भए ।

विजेतालाई राखेपका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक सुरेन्द्र हमाल, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरे र प्रशासकीय अधिकृत मीनकुमार शर्मा, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । २ दिने प्रतियोगितामा सुस्तश्रवण, दृष्टिविहीन र शारीरिक अपांगका जम्मा २ सय ७७ खेलाडीले ३९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया