खुला राष्ट्रव्यापी बक्सिङ हुने

lalitapur ma boxing huneकाठमाडौं । ललितपुर जिल्ला बक्सिङ संघको आयोजनामा चौथो राष्ट्रव्यापी खुला बक्सिङ प्रतियोगिता एवं प्रथम राष्ट्रव्यापी जुनियर (नोभिस) बक्सिङ प्रतियोगिता ७ असारदेखि सुरु हुने भएको छ ।

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङको विकास र बिस्तारका लागि जुनियर प्रतियोगिताले प्रतिभावन खेलाडीको पहिचान गर्न मद्दत मिल्ने बताए । प्रथम दक्षिण एसियाली खेलकुद (साफ)मा बक्सिङका तर्फबाट राष्ट्रलाई रजत दिलाउन सफल खेलाडीको रूपमा समेत परिचित अध्यक्ष अवालेले २६ जिल्ला ३ विभागीय टिमका करिब ४ सय खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा बताए । 

प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ ७ तौल समूह रहेको ललितपुर जिल्ला बक्सिङ संघका प्रवक्ता श्याम अवालले जानकारी दिए । प्रवक्ता अवालले जुनियरतर्फ पुरुषका ७ तौल समूह रहेको जानकारी गराए । उनले प्रतियोगितामा प्रत्येक तौल समूहका स्वर्ण विजेताले ५ हजार, रजतले ३ हजार तथा कांस्य विजेताले १ हजार नगद प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए । असार ११ गतेसम्म चल्ने प्रतियोगिताको अनुमानित बजेट २५ लाख रहेको छ ।

ललितपुरमा सञ्चालन हुने प्रतियोगिताका सहभागी खेलाडी तथा अफिसियललाई बस्ने खानेको प्रबन्ध पनि आयोजकले नै मिलाएको छ । पत्रकार सम्मेलनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेराकाजी महर्जन, बक्सिङका भीष्मपितामहले चिनिने सुरेशसिंह आले, अन्तर्राष्ट्रि«य रेफ्रीद्वय मथुरादास नेवा, मञ्जुजंग थापा, ललितपुर जिल्ला बक्सिङ संघका पदाधिकारीलगायतको उपस्थिति रहेका थिए । (सौस)

प्रतिक्रिया