२१औँ विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुद

bishesh khelkud school sabita n rameshकाठमाडौं, ३० वैशाख । पञ्चोदय उमाविकी सविता चौधरी र कर्णाली उमाविका रमेश चौधरीले २१औँ विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदमा बिहीबार स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पूर्ण दृष्टिविहीनतर्फ छात्रा ५० मिटर दौडमा सविताले स्वर्ण जितेकी हुन् । लेबोरेटरी उमाविकी सनिता भट्टराई दोस्रो तथा नमुना मच्छिन्द्र माविकी जानु खनाल तेस्रो भए । रमेश सोही स्पर्धाको छात्रमा पहिलो बने । नमुना मच्छिन्द्रका शंकर थिङ दोस्रो तथा जनताधन उमाविका दीपक अधिकारी तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको सफ्टबल थ्रोअन्तर्गत छात्रातर्फ पूर्ण दृष्टिविहीनमा पञ्चोदय माविकी सविता चौधरी, आंशिक दृष्टिविहीनमा अमरसिंह उमाविकी सरिता घिमिरे पहिलो भइन् । सोही विधाको छात्रको आंशिक दृष्टिविहीनमा शिखर उमाविका चेतन सुनुवार तथा पूर्ण दृष्टिविहीनमा पूर्वाञ्चल ज्ञानचक्षुका अमरदीप राई पहिलो भए ।

बहिरातर्फ छात्र १ सय मिटर दौडमा बाहिरा बाल उमाविका देवेन्द्र सारु मगर, छात्रा १ सय मिटर दौडमा बहिरा बाल उमाविकी पुष्पा खत्री, छात्र ४ सय मिटर दौडमा बहिरा बाल उमाविका दयानारायण चौधरी, छात्रा ४ सय मिटर दौडमा केन्द्रीय बहिरा उमाविकी लस्ता महर्जन, छात्र लङजम्पमा सिद्ध बहिरा बालकको स्कुलका धीरज शाही तथा छात्रा लङजम्पमा विराट बहिरा माविकी चमन खातुन शीर्ष स्थानमा रहे ।

शारीरिक अपांगतर्फ १ बैसाखी लिएर १ सय मिटर दौडको छात्रातर्पm हापुर उमाविकी आशा चौधरी र छात्रमा साउथ प्वाइन्ट उमाविका पुरुषोत्तमराय दनुवार, बैशाखी नलिएर २ सय मिटर दौडको छात्रमा खगेन्द्र नवजीवन विशेष शिक्षा माविका सुरज कार्की र छात्रामा गंगा उमाविकी सुनिता नेपाली तथा बैशाखी नलिएर सटपुटको छात्रमा हल्दीबारी उमाविका भूवनलाल राजवंशी र छात्रामा गंगाकी सुनीता नेपाली पहिलो बने । आंशिक दृष्टिविहीनतर्फ १ सय मिटर दौडको छात्रामा अमरसिंह उमाविकी विनिता पुन तथा छात्रमा अमरसिंह उमाविका सूर्यबहादुर गुरुङले स्वर्ण जिते ।

प्रतियोगिताको राखेप सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । एथलेटिक्स विधामा प्रतिस्पर्धा भइरहेको खेलकुदमा विभिन्न विद्यालयका सुस्तश्रवण, दृष्टिविहीन र शारीरिक अपांगतर्पm गरी जम्मा २ सय ७७ खेलाडी सहभागी छन् । शुक्रबार सम्पन्न हुने प्रतियोगितामा ३९ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । हरेक स्पर्धामा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ नगद पुरस्कार पाउने छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव विष्टले शारीरिक रूपमा अपांगता भएकाहरू मानसिक, क्षमता र भावनाका हिसाबले अपांग नभएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया