फुयाल र तिमल्सिनालाई खेलकुद पत्रकारिता पुरस्कार

sports award to phuyal n timilsinaकाठमाडौं, २९ वैशाख । नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघको ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कार–२०७२ बाट अजय फुयाल र रामसूदन तिमल्सिनालाई नगदसहित सम्मानित भएका छन् । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मंडलले फुयाल र तिमल्सिनालाई नगर पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । संघका संस्थापक अध्यक्ष सिंहको स्मृतिमा स्थापित सो पुरस्कारको राशि जनही २५ हजार रूपैयाँ रहेको छ । फुयाल नागरिक दैनिक र तिमल्सिना राजधानी दैनिकका पत्रकार हुन् ।

त्यसैगरी नेपाल ओलम्पिक संग्रहालयको सहयोगमा स्थापना भएको अभिलेखकृत खेलकुद पत्रकारिता पुरस्कारबाट एभिन्युज टेलिभिजनकी खेलकुद पत्रकार सरिता श्रेष्ठ सम्मानित भइन् । श्रेष्ठलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र संग्रहालयका अध्यक्ष क्षितिज अरूण श्रेष्ठले पुरस्कार प्रदान गरे । नेपाल बुद्धिचाल संघको सहयोगमा स्थापना भएको उत्कृष्ट बुद्धिचाल पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ पुरस्कृत भए ।

त्यस्तै नेपाल रिङ रेस्लिङ संघले प्रायोजन गरेको उत्कृष्ट फोटो पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका फोटो पत्रकार रजेन्द्र केसी सम्मानित भए । उनलाई नेपाल पत्रकार महासंघका सचिव धु्रव लम्साल तथा रिङ रेस्लिङ संघका अध्यक्ष सुनिता थापा र महासचिव सुवर्ण श्रेष्ठले पुरस्कृत गरे । सोही संघको सहयोगमा स्थापना भएको श्रव्यदृश्य खेलकुद पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका राजेश थापा मगरलाई प्रदान गरियो । फुयाल र तिमल्सिनाबाहेकलाई जनही १० हजार नगदसहित सम्मान पत्र प्रदान गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री सत्यनारायण मन्डलले खेलकुदलाई मर्यादित बनाउने कार्यमा पत्रकारले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले आगामी बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्नका लागि आफूले पहल गरिरहेको बताए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औँ दक्षिण एसियाली खेलकुदको तयारीको विषमया नीति तथा कार्यक्रममा सम्बोधन भएकोमा खुसी व्यक्त गरे । नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघका महासचिव राधेश्याम दाहालले संघको गतिविधिको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव धु्रव लम्साल, संघका अध्यक्ष समज्ञ लाकौलले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया