मनोज र सनितालाई स्वर्ण

काठमाडौं । मनोज भट्ट र सनिता भट्टराईले उपत्यकाव्यापी साउन्ड टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा नेपाल दृष्टिविहीन टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा मनोजले प्रशान्त रुम्बालाई १०–१२, ११–९ र ११–८ को सेटमा पराजित गरे । छत्र तामाङ र प्रेम लिम्बू संयुक्त रूपमा तेस्रो भए ।

कीर्तिपुरस्थित लेबोरेटरी उमाविमा भएको महिला फाइनलमा सनिताले सीमा तामाङलाई ११–७ र ११–८ को सोझो सेटमा हराइन् । मनीषा गिरी र हीरा पौडेल तेस्रो भए । दुवै समूहमा पहिलो हुनेले १ हजार र दोस्रोले ७ सयका दरले नगद पुरस्कार पाए । तेस्रो हुनेलाई ५ सयका दरले नगद पुरस्कार प्रदान गरियो । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका उप–सचिव रामबहादुर हमाल, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, काठमाडौं जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दामोदर भट्टराई(बद्री) लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा भएको थियो । समान १६–१६ पुरुष÷महिला गरी ३२ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव एवं साउन्ड टेबलटेनिस सहायक प्रशिक्षक कुमार पौडेलले जनाएका छन् । बल प्रहार गर्दा निस्किने ध्वानीबाट बलको दिशा पहिचान गरी साउन्ड टेबलटेनिस खेल्ने गरिन्छ । सहभागीले आँखामा पट्टी बाँधेर खेल्नुपर्ने हुन्छ । सो अवसरमा पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले शर्मा र युसुफलाई प्रशंसापत्र प्रदान गरेका थिए । (सौस)

प्रतिक्रिया