प्रिमियर लिगको उपाधिसँगै लेस्टरले इतिहास रच्यो

leicester-cityलन्डन, २१ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको जारीको सिजनको उपाधि लेस्टर सिटीले जितेको छ । लेस्टर सिटीले इतिहासमै पहिलोपटक प्रिमियर लिगको उपाधि जितेको हो । सिजनको सुरुमा प्रिमियर डिभिजनबाट रेलिगेसन हुने संभावित क्लबहरूको सूचीमा रहेको लेस्टर सिटीले सिजनभर उत्कृष्ट लय जारी राख्यो ।

लिगअन्तर्गत सोमबार राती भएको खेलमा दोस्रो स्थानको टोटनह्याम हट्सपरलाई चेल्सीले २–२ गोलको बराबरीमा रोकिदिएपछि लेस्टरले २ खेल अगावै उपाधि पक्का ग¥यो । बराबरीमा रोकिएपछि टोटनह्यामको उपाधि दाबेदारी सकिएको हो । हारपछि ५५ वर्षपछि उपाधि जित्ने टोटनह्यामको सपना अधुरै रह्यो । त्यस्तै अघिल्लो सिजन मुस्किलले रेलिगेसनबाट जोगिएको लेस्टर सिटीले जारी सिजनको प्रिमियर लिगको उपाधि जित्दै विश्व खेल जगतमा इतिहास कायम गरेको छ । लेस्टरको जित प्रिमियर लिगको इतिहासमा सबैभन्दा महत्वपूर्ण र सम्झनलायक हो । गत सिजन लिगका ३८ खेलमा ११ खेल मात्रै जितेको थियो । तर, जारी सजनमा लेस्टरले खेलेका ३६ खेलमा २२ खेलमा जित र ११ खेलमा बराबरी खेलेको छ । लेस्टरले सिजनमा ३ खेल मात्रै हारेको छ । उपाधि होडमा रहेको टोटनह्यामसहित आर्सनल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड तथा डिफेन्डिङ च्याम्पियन चेल्सीले लेस्टरलाई रोक्न सकेनन् ।

उपाधि दावेदारीमा जीवित रहन टोटनह्यामलाई गए रातीको खेल जित्नैपर्ने थियो । पहिलो हाफमै ह्यारी केन र सनले १–१ गोल गरेपछि टोटनह्याम जित नजिक पुगेको थियो । तर, दोस्रो हाफमा चेल्सीका ग्यारी केहिल र एडिन हाजार्डले १–१ गोल फर्काउँदै खेल बराबरीसम्म ल्याए । खेलको ३५औँ मिनेटमा ह्यारी केन तथा ४४औँ मिनेटमा सन हेग्युन मिनले गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । तर, चेल्सीका लागि ५८औँ मिनेटमा ग्यारी काहिल तथा ८३औँ मिनेटमा इडेन हजार्डले गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो । बराबरीपछि लिगका २ खेल बाँकी हुँदा दोस्रो स्थानको टोटनह्यामको ७० तथा च्याम्पियन बनेको लिसेस्टर सिटीको ७७ अंक छ । ३५ खेलबाट ४८ अंक जोडेको चेल्सी नवौं स्थानमा छ । लेस्टरलाई उपाधि दिलाउन स्ट्राइकर जेमी भर्डी, मिडफिल्डर रियाद माहारेज, कप्तान वेस मोर्गान, मिडफिल्डर एन्गोलो कान्ते र अन्य खेलाडीको उत्कृष्ट तालमेल नै थियो । इटालियन प्रशिक्षक क्लाउडियो रानेरीको रणनीतिक उपयोगी मुलक बन्यो ।

लेस्टरले सबैभन्दा कम कुल २३ खेलाडीमा मात्र प्रयोग गर्दै उपाधि जितेको थियो । लेस्टरले थोरै लगानी र सामान्य खेलाडीहरू प्रयोग गर्दै उपाधि जितेर विश्व फुटबललाई नै चकित पा¥यो । ७० को दशकमा निकै कमजोर मानिएको क्लब नटिङ्घम फरेस्टले इंग्लिस र युरोपियन फुटबलमा हात पारेको सफलतालाई लेस्टरको सफलतासँग जोडिएको छ ।

प्रतिक्रिया