धार्मिक पर्यटनको विकास हुन्छ : मन्त्री पोखरेल

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले विनासकारी भूकम्पले उपत्यकाका तीन जिल्लामा पु¥याएको क्षति विवरण पुनः संकलन कार्य अब छिट्टै सुरु हुने बताएका छन् ।

आइतबार भक्तपुरको कौशलटारस्थित कौशलटार इङ्लिस स्कूलको साताँै वार्षिकोत्सव एवम् अभिभावक दिवसमा बोल्दै उनले भूकम्पले सबभन्दा बढी क्षति भएका १४ जिल्लामध्ये ११ जिल्लाको क्षति विवरण आइसकेकाले अब त्यहाँ खटिएका इन्जिनियरलाई भक्तपुर, काठमाडौं र ललितपुरको क्षति विवरण संकलनमा खटाइने जानकारी गराए ।

मन्त्री पोखरेलले भने, ‘उपत्यकामा पनि क्षति विवरण संकलनको प्रक्रिया सुरु भएको छ, अब छिट्टै पुनःनिर्माणको काम सुरु हुन्छ ।’ पुनःनिर्माणका लागि दाताले दिने सबै रकम खातामा आइनसकेको बताउँदै उनले सरकारले आगामी पाँच वर्षभित्र सबै घर तथा सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने बताए ।

कार्यक्रममा उनले नेपाललाई धार्मिक पर्यटनका रूपमा विकास गर्न सरकारले विभिन्न योजना अगाडि सारेको बताए । उनले भने, ‘विभिन्न धर्मसंस्कृतिको धनी हाम्रो देश नेपालमा धार्मिक पर्यटनको विकास गर्दै लगे छिटो विकास हुने र आर्थिक समुन्नति हुन्छ, त्यसैले सरकार यसतर्फ केन्द्रित भएको छ ।’

कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष राजकुमार महर्जन, त्रिविवि मानविकी संकाय प्रमुख माधवप्रसाद कोइराला, थिमी नगरपालिकाका पूर्वउपमेयर मुरारी आचार्य, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट गभर्नर सुनिलभक्त श्रेष्ठ, नायक रमित ढुं्गाना, समाजसेवी कालिका पाठक, सागबारी टोल सुधार समितिका अध्यक्ष गरुडध्वज बस्नेत, विद्यालय सञ्चालन समितिका अध्यक्ष लक्ष्मीबहादुर कुटु, विद्यालयका प्रिन्सिपल लक्ष्मी कुटुलगायतले निजी विद्यालयका लागि सरकारले ल्याएको निर्देशिकाले निजी विद्यालय संकटमा परेको बताए । मन्त्री पोखरेलले भूकम्पप्रतिरोधी नयाँ भवनको उद्घाटनसमेत गरेका थिए । (सौस)

प्रतिक्रिया