पहिलो सेमिफाइनलमा पुलिस र आर्मी भिड्ने

काठमाडौं, १२ वैशाख । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भएको राष्ट्रिय महिला लिग फुटबलको पहिलो सेमिफाइनलमा २ विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब सोमबार आमने सामने हुने भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा समूह ‘ए’ को विजेता पुलिस र समूह ‘बी’ को उपविजेता आर्मीले एकअर्का प्रति चुनौती पेस गर्नेछन् । दुवै टोली निकै बलियो रहेकाले सजक हुँदै जित हात पार्ने उद्देश्यले मैदानमा उत्रनेछन् । पुलिस क्लब साविक विजेता तथा त्रिभुवन आर्मी क्लब उपविजेता हुन् । त्यसैले पनि अघिल्लो सफलतालाई निरन्तरता दिने जित हात पार्ने लक्ष्यका साथ दाबेदारी प्रस्तुत गर्दैछन् ।

यसअघि पुलिसले ३ खेलमा समान जित हात पार्दै ९ अंक जोडेको थियो । आर्मीले भने ३ खेलमा २ जित तथा १ बराबरी खेलेका साथ ७ अंक जोडेको थियो । आर्मी एपिएसँग बराबरीमा रोकिएको थियो । मंगलबार हुने दोस्रो सेमिफाइनल खेलमा भने पूर्वाञ्चल महिला फुटबल टोली र सशस्त्र प्रहरी बल (एपिएफ) आमनेसामने हुनेछन् । पूर्वाञ्चल समूह ‘ए’ को उपविजेता हो भने एपिएफ समूह ‘बी’ को विजेता हो । महिला लिग विजेताले २ लाख तथा उपविजेताले १ लाख प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट गोलकिपर, फर्वार्ड, मिडफिल्डर, डिफेन्डर तथा प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया