रियो ओलम्पिक र एसियन छनोट : तोक्वान्दो टोलीको बिदाई

काठमाडौं, ३० चैत । फिलिपिन्सको मनिलामा आयोजना हुने रियो ओलम्पिकका लागि एसियन तेक्वान्दो छनोट, २२औँ एसियन तेक्वान्दो च्याम्पियनसिप, दोस्रो पारा एसियन तेक्वान्दो च्याम्पियनसिप तथा चौथो एसियन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाई गरिएको छ ।

मनिलामा १६ र १७ अप्रिलमा हुने ओलम्पिक छनोटमा नेपालको तर्फबाट महिला ५७ किलो तौल समूहमा निमा गुरुङ, ५७ किलोभन्दा माथिको तौल समूहमा निसा रावल ५८ किलो तौल समूहमा रन्जन श्रेष्ठ तथा ५८ किलोभन्दा माथिको समूहमा वीरबहादुर महराको सहभागिता रहनेछ । तेक्वान्दो संघका अध्यक्ष प्रकाश समशेर राणाको नेतृत्वमा रहने टोलीका कसिम मिया व्यवस्थापकको रूपमा रहेका छन् । टोलीमा कोरायाली प्रशिक्षक जाय हो लीले जिम्मेवारी सम्हालेका छन् ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा आयोजित बिदाई कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले बिदाई गरे । ओलम्पिक छनोट खेल्ने टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ । त्यस्तै १९ र २० अप्रिलमा हुने एसियन च्याम्पियनसिपमा ४६ किलो तौल समूहमा रेजिना कार्की, ४९ किलो तौल समूहमा यानकुमारी चौलागाईं, ५७ किलोमा ज्ञानी चुनारा, ६२ किलो तौल समूहमा आयशाा शाक्य र ८० किलो तौल समूहमा सक्षम कार्कीले सहभागता जनाउँदै छन् । यस टोलीमा पनि कोरायाली प्रशिक्षक जाय हो लीले जिम्मेवारी सम्हालेका छन् । हेमन्त डाँगी व्यवस्थाकको रूपमा रहेका छन् ।

यस्तै १८ अप्रिलमा हुने एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा रन्जना धामी, सीता भण्डारी र रोहितहाङ राईको सहभागिता रहनेछ । यादव कुँवरको प्रशिक्षणमा टोली रहेको छ । यसै दिन हुने पुम्सेमा पार्वती गुरुङको सहभागिता रहनेछ । टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

ओलम्पिक कमिटीबाट निसाको बिदाई
फिलिपिन्सको मनिलामा आयोजना हुने रियो ओलम्पिक छनोटमा सहभागी हुने नेपाली तेक्वान्दो खेलाडी निसा रावललाई मंगलबार नेपाल ओलम्पिक कमिटीले बिदाई ग¥यो । ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले रावललाई शुभकामना दिँदै ओलम्पिक कमिटीले युवा खेलाडीलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा राखेप तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक अर्जुन विक र ओलम्पियन दीपक विष्टसहित नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पनि बिदाई गरे ।

तेक्वान्दो प्रशिक्षक हेमन्त डाँगी, नोर्बु लामा र सुमन घलेको पनि उपस्थिति थियो । निसा २०१५ देखि ओलम्पिक स्करलरसिपमा रहेकी खेलाडी हुन् । हेमन्त टोली व्यवस्थापकको रूपमा मनिला जाँदै छन् । उनले मनिलामा ५७ किलोभन्दा माथिको तौल समूहमा सहभागिता जनाउनेछिन् ।

प्रतिक्रिया